एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १३ :
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो ले महोत्तरी जिल्ला अदालतको अनुगमन तथा निरीक्षण गरेका छन्।
अनुगमनका क्रममा मन्त्री महतोले अदालतको सेवा प्रवाह, मुद्दा व्यवस्थापन, कर्मचारीहरूको कार्यसम्पादन तथा भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिएका थिए। उनले अदालतमा भइरहेका न्यायिक गतिविधि, सेवाग्राहीलाई उपलब्ध गराइने सुविधा तथा समग्र कामकारबाहीप्रति चासो व्यक्त गरेका थिए।
मन्त्री महतोले न्यायिक सेवा प्रभावकारी, छिटोछरितो तथा नागरिकमैत्री बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। नागरिकले सहज र निष्पक्ष रूपमा न्याय पाउने वातावरण निर्माणका लागि आवश्यक सुधार, समन्वय र सहकार्यमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
अनुगमनका क्रममा अदालतका न्यायाधीश, कर्मचारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूसँग अदालतको वर्तमान अवस्था, चुनौती र आवश्यकताबारे छलफल समेत गरिएको थियो।





