एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १ : जनकपुरधामको मुख्य पहिचान प्रसिद्व बिश्वका हिन्दुहरुको आस्थाको केन्द्र श्री जानकी मन्दिर त हो नै अर्को मुख्य पहिचानको राराब क्याम्पस र सरस्वती मावि पनि जसरी बिश्वका हिन्दुहरु जानकी मन्दिर आएर आस्था र श्रद्धा प्रकट गर्छन त्यसरि नै सरस्वती उच्च मावि र राराबमा पढेका हरेक क्षेत्रका बिद्वानहरु बिश्वका हरेक देश र शहरमा बसोबास गरिरहेका छन् ।
तिनै राराब क्याम्पस र सरस्वती उच्च माविका स्थापनाकार मध्येका एक वरिष्ठ समाजसेवी दानवीर रामचन्द्र साहको ९५ वर्षको उमेरमा शुक्रवार विहान निधन भएको छ । जनकपुरधामको निर्माण, संस्थापना, शिक्षा र स्वास्थ्य क्षेत्रको पुर्वधार विकासमा जग्गा, जिन्सी र नगद गरि अहिले सम्म अर्बौैको सम्पती हाँस्दै दान गर्ने दानवीरहरु रामसागर रामस्वरुप परिवारका जयेष्ठ सदस्य साहको निधन भएको हो ।
वि.सं. १९८५ रामनवमीका दिन जन्मेका साह आज आफनो देह त्याग गरिरहँदा उनका समकक्षी, जनकपुरधामका जयेष्ठ सदस्य, राजनितिज्ञहरु श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिक शरिर राखिएको उनको जयेष्ठ सुपुत्र तारा चन्द्र साहको मिल्सएरिया स्थित निवासमा विहानै देखि पुग्ने गरेका छन् । उनका माइला र कान्छा सुपुत्रद्वय क्रमश ई. प्रकाश चन्द्र साह र शुभाषचन्द्र साह उनको अन्तिम संस्कारको तयारीमा जुटिरहेको देखियो ।
जानकारीको अभावमा पनि हुन सक्छ उनलाई श्रद्धाञ्जली अर्पण गर्नेहरुको समान्य चहल पहल देखिएपनि त्यहाँ पुग्ने गरेको बयोवृद्वहरुको उहाँ प्रति अपार आस्था देखियो । वरिष्ठ पत्रकार, प्रेस स्वतन्त्रता सेनानी तथा जनआन्दोलनका जिउँदा शहिद राम भरत साहले स्व. साह प्रति जनकपुरधामको हरेक नागरिकले सच्चा श्रद्धाञ्जली अर्पण गर्न आवश्यक रहेको बताए । उनले भने, ‘अव के भन्ने अहिले कुनै कथाकथित नेता विमान स्थलमा आउँदा पनि भिड लाग्छ तर जनकपुरधाम बनाएका दानवीरको अन्तिम दर्शनका लागि कसैसंग समय छैन ।’
उनले योगदानको कदरहुनु पर्ने बताए । २०५० सालमा जनकपुरधाम नगरपालिकाले आधिकारिक रुपमा समाजसेवीको रुपमा रामचन्द्र बाबु, शिक्षासेवीको रुपमा तत्कालिन सरस्वती उच्च माविका प्रअ गंगाधर दत्त र जनआन्दोलनको सिपाहीको रुपमा मलाई सम्मान गरेको स्मरण गर्दै वरिष्ठ पत्रकार साहले भने, ‘यहाँको समाज र राज्यले स्व. साह जस्ता दानवीर र परिवारजनलाई बिर्सेका छन् ।’
श्रद्धाञ्जलीका लागि पुगेका जनकपुरधामका पुर्व मेयर लालकिशोर साहले स्व. साहको शाहासिक ह्ृदय र मनकै कारण जनकपुरधाम शिक्षाको हवको रुपमा स्थापित भएको बताउदै यस्ता महान आत्माको सम्मानमा कम्तिमा जनकपुरधामवासी र यहाँबाट शिक्षा आर्जन गरेकाहरु नतमस्तक हुन आवश्यक रहेको बताए । उनले आजको आधुनिक जनकपुरधामको जग बसाउने काम रामसागर, रामस्वरुप परिवार र धर्मसंस्था ट्रष्टले गरेको भन्दै स्व. साह प्रति श्रद्धाञ्जली अर्पण गरे ।
स्व. साह सभापती रहेको २००१ सालमा स्थापित श्री धर्मसंस्था रामस्वरुप साह, रामसागर साह मिल्स एरिया जनकपुरधामका उपसभापती प्रभाकर प्रसाद साहले काकालाई स्मरण गर्दै उहाँको जस्तो सासासिक अठोट र निर्णय शक्ति दुर्लभ रहेको बताए । उनले भने, ‘उहाँको हिम्मत र समाजसेवाका लागि रहेको लगाव आफुहरुमा पनि होस भन्ने कामना गरे ।’ स्व. साहको पार्थिक शरिर मिल्स एरिया स्थित धर्मसंस्थाको धर्मशालामा ११ बजे श्रद्धाञ्जलीका लागि राखिने बेलुका रत्नसागर सरोवर स्थित स्वर्गद्वारीमा अन्तिम संस्कार हुने परिवारजनले जनाएको छ ।
स्व. साह सभापती रहेको ट्रष्टले गरेको मुख्यदानहरु
२००१ सालमा १० हजार १ रुपैया नगद भारु र एक मन धान पुँजी सहित स्थापना भएको श्री धर्मसंस्था रामस्वरुप साह, रामसागर साह मिल्स एरिया जनकपुरधाम (ट्रष्ट)ले जनकपुरधामका साथै धनुषा र यसक्षेत्रमा हाल सम्म गरेको मुख्य योगदानहरु यस्ता छन् । तपसिल :
जनकपुरधामको राराब क्याम्पसमा ७५ बिघ्घा जग्गा दान र सुरुवाती सम्पुर्ण संरचना निर्माण
सरस्वती उच्च माविको सम्पुर्ण जग्गा दान
कन्या उच्च माविको सम्पुर्ण जग्गा दान
मुजेलिया स्थित उच्च माविको जग्गा दान
जनकपुरधामको शिवचौक स्थित शिव मन्दिर निर्माण
गंगासागरघाट धर्मशाला निर्माण
जटहीमा पुल र मन्दिर निर्माण
मुजेलियामा धर्मशाला र मन्दिर निर्माण
रत्नसागर मन्दिर निर्माण
तुल्सी स्मारण निर्माण
महिनाथपुर संस्कृत महाविद्यालय निर्माण
धनुषाको कुशमाहा सतोषर स्थित मन्दिर निर्माण
बेङ्गाडाबरमा साढे चार बिघ्घा जग्गामा विद्यालय र शौचालय निर्माण
एतिमात्र होइन यस्का साथै यस क्षेत्रको कुशमाहा, गम्हरिया, पर्सा, बगरा सहितका ठाँउहरुमा अहिले सम्म कुल ३ सय ४२ बिघ्घा जग्गा दान गरि समाजका लागि शिक्षाका मन्दिरहरु, धर्मशाला, धार्मिक मठमन्दिर स्थापना गरेको ट्रष्टको सञ्चालक, उपसभापती र सभापती हुदै ४२ वर्ष देखि परिवारको जयेष्ठ सदस्यका रुपमा नेतृत्व गर्दै आएका साह समाजलाई सदाका लागि छोडेर गएका छन् ।
यि महान दानवीर प्रति एसपी खवर डटकम परिवार सच्चा श्रद्धाञ्जली अर्पण गर्दछ ।