एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ :
धनुषामा रहस्यमय मृत्यु भएको आरती साहका लागि न्याय माग्दै माइतीपक्षले जिल्ला अदालत धनुषामा ढुंगामुढा गरेका छन् । धनुषा प्रहरीले हत्यारालाई जोगाउन खोजेको भन्दै माइतीपक्षले मंगलबार धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै अदालत परिसरमा ढुंगामुढा गरेका हुन् ।

https://www.facebook.com/messenger_media?attachment_id=1293790381524135&message_id=mid.%24gABGQWzL44JWPCOy2UWI16c43nn88&thread_id=4943795975676053

मृतक आरतीको माइतीपक्षले अदालत परिसरमा ढुंगामुढा गर्दा प्रहरीसँग झडपसमेत भएको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा चारजना घाइते भएका छन् । घाइते हुनेहरुमा नगराईन नगरपालिका–८ खिरखिरिया बस्ने लिला देवी, लाडो बति देवी, कृष्णा साह र प्रवीण साह रहेका छन् । प्रहरीले सोही ठाउँ बस्ने गोविन्द साहलाई पक्राउसमेत गरेको छ ।

परिवारजनले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पीडित परिवारलाई उल्टै धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न माग गर्दै विरोध गरिएको हो । गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २२ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो । उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआइबीद्वारा जाँच लगायत ६ सुत्रीय माग राखेका छन् । उनीहरूले काठमाडौमा पनि धर्ना दिएका छन् ।

हत्यारालाई कडा कारबाहीको माग गर्दै बुबा आमासहित परिवारजन शनिबारदेखि काठमाडौंमा धर्नामा बसेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरतीकुमारी साहको मृत्यु भएको थियो । उनको दाइजोका कारण हत्या गरिएको माइतीपक्षको आरोप छ । दहेजको थप रकम नदिदाँ पटक पटक आरतीलाई उनीहरुले कुटपिट गर्दै शारीरिक र मानसिक यातना दिँदै आएको आरोप छ । करिब दुई वर्षअघि २५ लाख नगद दिएर आरतीको विवाह मोतीबाबुसँग गरेको मृतकका बुबा विनोदले बताए ।

उनले मोतीबाबुको काठमाडौंमा अर्कै केटीसँग सम्बन्ध रहेको र आरतीलाई सोबारे जानकारी हुँदा पटक–पटक उनीहरुबीच मनमुटावसमेत हुँदै आएको बताए । विनोदले मोतीबाबुको बानी व्यहोराबारे आफूहरुले विवाह भएपश्चात् जानकारी पाएको र विवाहको बेला आफूहरुलाई केटा इन्जिनियर छ भन्दै छोरीको विवाह गरिए पनि उनी भने ब्रोकरको काम गर्दै आएको कुरा आफूहरुले पछिबाट थाहा पाएको बताए ।

यसैबिच जनकपुर कि आरती साहको हत्या आरोपमा पक्राउ परेका श्रीमान र ससुरालाई जिल्ला अदालत धनुषाले पुर्पक्षमा थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत धनुषाका न्यायाधिश राम प्रसाद न्यौपानेको एकल इजलासले सो आदेश दिएको हो । पिडितको तर्फबाट सरकारी वकिल सुदिप दंगाल,वरिष्ट अधिवक्ता चन्द्र शर्मा मैनाली,अधिवक्ता ईन्द्र प्रसाद अर्याल र अधिवक्ता रिंकु कुमारी यादव तथा अधिवक्ता राधा कुमारीले बहस गरेका थिए । गत जेष्ठ ७ गते साझ जनकपुरधाम उपमहानगरपालिका ९ थापा चौक स्थित आफ्नै ससुराली घरमा आरती साह मृत फेला परेपछि माईतपक्षले श्रीमान सहितका परिवारका सवै सदस्यले मिलेर हत्या गरेको आरोप लगाएका थिए ।

यता धनुषा प्रहरीले श्रीमान र ससुरा दुईजनाको नाम मात्र जाहेरीमा ल्याए दर्ता गर्ने बताएपछि जाहेरीमा दुईजनाको नाममात्र उल्लेख गरिएको मृतक आरतीका मामा संतोष साहले वताए । उनले दुईसंगै सासु र देवर समेत हत्यामा संलग्न रहेपनि प्रहरीले उनीहरुको नाम जाहेरीमा समावेश गर्न नमानेको वताए । यता पिडित पक्षको धर्ना काठमाडौं स्थित माईतीघर मण्डलामा जारी छ । पिडित पक्षले परिवारका अन्य सदस्यसंगै प्रहरीका एसपी,डिएसपी र सुरक्षागाडी समेतलाई कार्यवाही नगरे धर्ना न तोड्ने बताएका छन ।