एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २६ : मधेश प्रदेश सरकारको गौरवको आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती प्रा.डा. रामकेवल साह प्रति मधेश प्रदेशका मुख्यमन्त्री सहितका विशिष्ठ व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । क्यान्सर रोगको उपचारको क्रममा ६९ वर्षिय उनको भारतको एनसीआरमा पर्ने गुडगाउँस्थित नारायणा अस्पतालमा उपचारकै क्रममा बिहीबार बिहान ३ बजे उनको निधन भएको थियो ।
एम्बुलेन्स माफर्त भारतबाट उनको पार्थिक शरिरलाई जनकपुरधाम ल्याएको र सर्वप्रथम प्रतिष्ठानको प्राङ्गणमा राखिएको थियो । त्यहाँ मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादव, मधेश सरकारका मन्त्रीहरु विरेन्द्र सिंह, सुरिता साह, संजय यादव, जनकपुरधामका मेयर मनोज कुमार साह, पुर्वमेयर लालकिशोर साह, व्रिखेषचन्द्र लाल, सवैला नगरपालिका प्रमुख कारीराम यादव, पुर्व सांसद प्रमोद साह त्यसै गरि एमाले नेता शिवशंकर साह हिरा, जसपा नेता बलराम महतो समाजसेवी ई सत्यनारायण साह, वरिष्ठ चिकित्सक हुकुमदेव साह, वरिष्ठ चिकित्स तथा स्व. साहका सहयात्रीहरु, प्रतिष्ठान र प्रादेशिक अस्पतालका पदाधिकारी, चिकित्सक नर्श तथा कर्मचारीहरु सहित जनकपुरधामका अगुवाहरुले श्रद्धाञ्जली अर्पण गर्दै मधेशले एक सच्चा शुभेच्छुक र अभियानी गुमाएकोमा दुःख व्यक्त गरेका छन् ।
उनको पार्थिव शरिर सञ्चयकोष कार्यालय छेउको उनको निवासमा वेलुका सम्म राखिने र आजै अन्तेष्टि संस्कार गरिने परिवारजनले जनाएको छ । करिव दुई दशक देखि मधेशको मुद्दा र मधेश आन्दोलनको पक्षमा थिंक टयांकका रुपमा काम गर्दै प्रथम मधेश सरकार बनेपछि मधेशको स्वास्थ्य क्षेत्रको विकासका लागि मधेश सरकारको स्वास्थ्य सल्लाहकार हुदै प्रतिष्ठानको उपकुलपती बनेर सेवा गरिरहेका उनको निधनले मधेश शोकमा डुबेको छ ।
मधेश मुद्दाका अगुवाहरुले उनको निधनमा शोक ब्यक्त गरिरहेका छन् । केही समययता कलेजो सम्बन्धी रोगका कारण स्वास्थ्य स्थिति गम्भीर भएपछि उनको उपचारका लागि भारत लगिएको थियो । नेपाल मेडिकल कलेजमा लामो समय अध्यापन गराएका प्राध्यापक डा. साह सेवानिवृत्त भएलगत्तै प्रतिष्ठानका उपकुलपतिमा नियुक्त हुनुभएको थियो । त्यसअघि अर्थोपेडिक्स सर्जन डा.साह केही वर्ष सरकारी सेवामा संलग्न रहेका थिए । २०२६ सालमा जनकपुरधामस्थित सरस्वती माविबाट प्रवेशिका परीक्षा उतीर्ण गर्नुभएका डा. साह सो परीक्षामा देशभरिमै तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए ।
कक्षा आठसम्म भने उनी आफनो जन्मथलो धनुषाको सबैला छेउ रघुनाथपुरको फकिरचन्द गामी उच्चा मावि बरकुर्वा स्थित विद्यालयमा अध्ययन गरेका थिए । अमृत साइन्स क्याम्पसबाट आएससी अध्ययन गर्नुभएका डा.साह भारतको मेरठ मेडिकल कलेजबाट एमबिबीएस र एमएस पढेका थिए । बेलायतको लिभरपुलबाट एमसीएचमा स्वर्णपदक प्राप्त गरेका उनी पछिल्लो समय मधेशको हकहितको विभिन्न सन्दर्भमा थिंक टयांकका रुपमा काम गर्दै आएका थिए । उनको दुई छोरा र श्रीमती छन् ।