एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २५ : मधेश प्रदेश सरकारको गौरवको आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती प्रा.डा. रामकेवल साहको निधन भएको छ । क्यान्सर रोगको उपचारको क्रममा ६९ वर्षिय उनको भारतको एनसीआरमा पर्ने गुडगाउँस्थित नारायणा अस्पतालमा उपचारकै क्रममा बिहीबार बिहान ३ बजे निधन भएको हो ।
करिव दुई दशक देखि मधेशको मुद्दा र मधेश आन्दोलनको पक्षमा थिंक टयांकका रुपमा काम गर्दै प्रथम मधेश सरकार बनेपछि मधेशको स्वास्थ्य क्षेत्रको विकासका लागि मधेश सरकारको स्वास्थ्य सल्लाहकार हुदै प्रतिष्ठानको उपकुलपती बनेर सेवा गरिरहेका उनको निधनले मधेश शोकमा डुबेको छ । मधेश मुद्दाका अगुवाहरुले उनको निधनमा शोक ब्यक्त गरिरहेका छन् ।
केही समययता कलेजो सम्बन्धी रोगका कारण स्वास्थ्य स्थिति गम्भीर भएपछि उनको उपचारका लागि भारत लगिएको थियो । पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीरलाई गृहनगर जनकपुरधाम ल्याउने प्रयास भइरहेको छ आज नभए भोलि जनकपुरधाममै अन्तिम दर्शन र दाहसंस्कार गरिनेछ ।
नेपाल मेडिकल कलेजमा लामो समय अध्यापन गराएका प्राध्यापक डा. साह सेवानिवृत्त भएलगत्तै प्रतिष्ठानका उपकुलपतिमा नियुक्त हुनुभएको थियो । त्यसअघि अर्थोपेडिक्स सर्जन डा.साह केही वर्ष सरकारी सेवामा संलग्न रहेका थिए । २०२६ सालमा जनकपुरधामस्थित सरस्वती माविबाट प्रवेशिका परीक्षा उतीर्ण गर्नुभएका डा. साह सो परीक्षामा देशभरिमै तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए ।
कक्षा आठसम्म भने उनी आफनो जन्मथलो धनुषाको सबैला छेउ रघुनाथपुरको फकिरचन्द गामी उच्चा मावि बरकुर्वा स्थित विद्यालयमा अध्ययन गरेका थिए । अमृत साइन्स क्याम्पसबाट आएससी अध्ययन गर्नुभएका डा.साह भारतको मेरठ मेडिकल कलेजबाट एमबिबीएस र एमएस पढेका थिए । बेलायतको लिभरपुलबाट एमसीएचमा स्वर्णपदक प्राप्त गरेका उनी पछिल्लो समय मधेशको हकहितको विभिन्न सन्दर्भमा थिंक टयांकका रुपमा काम गर्दै आएका थिए ।
कांग्रेस नेता निधीद्वारा शोक व्यक्त
उनको निधनमा उनका मित्र नेपाली कांग्रेसका पुर्व उपसभापती तथा पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले शोक व्यक्त गरेको छ । एक टवीट गर्दै निधीले डा. साहको निधनको खवरले स्तब्ध भएको उल्लेख गरेका छन् । २०४६ सालको आन्दोलनमा डा. साहकै घरमा भुमिगतरुपमा बसेर ई. सत्यनारायण साह, बिन्देश्वर महासेठ परिवार र साथीहरु संग मिलेर आन्दोलन सञ्चालन गरेको स्मरण गर्दै निधीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।