एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २० : मैथिली साहित्यमा केन्द्रित भएर अडहुल र चनमा जस्ता गोष्ठीहरुको सफल आयोजन गरिसकेको विमर्श फाउण्डेशनले जनकपुरधाममा तिन दिवसीय साहित्यीक छलफल ‘विमर्श’ कार्यक्रमको आयोजना गर्न लागेको छ । विमर्श फाउण्डेशनको आयोजना र नेपोभिट टाइल्सको प्रायोजनमा जेठ २६, २७ र २८ गते हुन लागेको सो कार्यक्रममा मैथिली भाषा, संस्कृति, समाज, पर्यावरण र साहित्यमाथि नेपाल र भारतका विशिष्ठ व्यक्तिहरुले परिचर्चा गर्ने फाउण्डेशनका अध्यक्ष विभा झाले जानकारी दिइन् ।
शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि झाले विमर्श कार्यक्रम आफ्नो मनोकांक्षा रहेको सुनाइन् । उनले मैथिली भाषा र साहित्यसँग आफ्नो प्रेम र सद्भाव सदैव रहेको बताउँदै आफ्नो निजी खर्चमा यसअघि पनि दुईवटा आयोजनाहरु गरिसकेको जानकारी दिइन् । उनले मैथिली समाजका हरेक गतिविधिहरु दुनियाभर फैलाउन र समाजका गतिविधीहरु साँझ र पराती छुटिरहेको अवस्थामा त्यसलाई ज्वलन्त बनाउनु आफ्नो मुख्य उद्देश्य रहेको बताइन् ।
नेपोभिट टाइल्सका शम्भुनाथ झाले जेठ २६ गते सन्ध्याकालबाट कार्यक्रमको शुरूवात गरिने जानकारी दिए । उनले सुन्दर जनकपुरको बारेमा प्रथम विमर्शबाट कार्यक्रमको शुरूवात गरिने बताए । तिन दिवसीय विमर्शमा जनकपुरधामक समृद्ध ऐतिहासिकता आ वर्तमान, कवि सम्मेलन, सांस्कृतिक संध्या, अतीतक आंगनमे भविष्यक अरिपन, मध्य–मैथिलीक सहायक क्रिया रुप, राजनीतिक अस्तित्व, मैथिली साहित्यक समकालीन परिदृश्य, मिथिलामे उद्योगक सम्भावना आ चुनौति, पुस्तक लोकार्पण आ परिचर्चा, मैथिलीक समकालीन कथा साहित्य आ नव पीढीक चुनौती, स्त्री विमर्श, जलाधार संरक्षण, समृद्ध मिथिलाक परिकल्पना आ नवतुरियाक भूमिका, दूनू पारक मिथिलाक लोकसम्बन्धक पुनरावलोकन, मैथिली साहित्यमे दलित चेतना, मैथिलीक दुनिया आ दुनियामे मैथिलीलगायतका शेसनहरु सञ्चालन गरिने कार्यक्रमका संयोजक विकास वत्सनातले जानकारी दिए ।
तिन दिवसीय विमर्शमा प्रा.डा. रामावतार यादव, विजय कुमार सिंह दनुवार, नागदेव यादव, उमाकान्त झा, रामभरोस कापडि, डा. कमल मोहन, डा. रमानन्द झा, डा. अरुणाभ सौरभ, बालमुकुन्द अजित आजाद, कथाकार अशोक, प्रदीप बिहारी, गंजन श्री, डा. तारानन्द वियोगी, डा. अशोक कुमार मेहता, नित्यानन्द मण्डल, रोशन जनकपुरी, डा. राजेन्द्र विमल, महेन्द्र मलंगिया, परमेश्वर कापडि, प्रेमलता मिश्र प्रेम, डा. भीमनाथ झा, सीके लाल, मंचला झा, रीता साह, मनिका झा, प्रियंका झा, कुमारी श्रेया, बिभा झा, करुणा झा, रुपा झा, खुशबु झा, मंजु यादव, संजु रानी मण्डल, विभा रानी, रंजु यादवलगायतका वक्ताहरुले आ–आफ्नो धारणा राख्नेछन् ।
पत्रकार सम्मेलनमा साहित्यकार रमेश रञ्जन झा, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, वरिष्ठ पत्रकार हिमांशु चौधरी, कवि काशिकान्त झा, पूनम झा मैथिली, साहित्यकार एवम् पत्रकार सुजित झा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रिंकु गायत्री मिश्र, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झालगायतकाहरुको उपस्थिती रहेको थियो ।