एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ६ : नेकपा एमालेका सचिव रघुवीर महासेठले मदन भण्डारी मध्य पहाडी लोकमार्गका कारण चुरे क्षेत्रमा कुनै असर नपरेको दाबी गर्नुभएको छ । जनकपुरधाममा शनिबार प्रगतिशील वन प्राविधिक संघको मधेश प्रदेश अधिवेशनमा सचिव महासेठले यस्तो बताउनुभएको हो ।
उहाँले मदन भण्डारी मध्य पहाडी लोकमार्गका कारण चुरे क्षेत्रमा असर परेको गुनासो बढेपछि आफूले त्यस क्षेत्रको भ्रमण नै गरेको भन्दै कुनै समस्या नभएको बताउनुभएको हो । सचिव महासेठले मधेशमा वन क्षेत्रको संरक्षण हुन नसकेको भन्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने पनि बताउनुभयो ।
उहाँले हरियो वन नेपालको धन भन्ने नारालाई साकार पार्न सबैको सहयोग आवश्यक रहेकोसमेत बताउनुभयो । महाधिवेशनले संघको मधेश प्रदेश अध्यक्षमा उज्ज्वल यादव निर्विरोध चयन गरेको छ । त्यस्तै, उपाध्यक्षमा उपाध्यक्ष सुबाश कुशवाहा र पिंकी मेहता, सचिवमा आभास प्रधान, उपसचिवमा प्रमिला चौधरी र नितेश कुमार दास, कोषाध्यक्षमा बलराम यादव चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा अलताफ आलम, प्रशान्त कुमार कर्ण, सरोज यादव, रामचन्द्र यादव, नीति महतो, काजल यादवलगायत रहेका छन् । अधिवेशनमा मधेश प्रदेशका सांसद दीपेन्द्र ठाकुरलगायत सहभागी भएका थिए ।