पुरन रौनियार
जनकपुरधाम, जेठ २ : मधेश प्रदेशको चौथो ठुलो दल जनमत पार्टी मधेश सरकार निर्माणका लागि लक्ष्मणबुटी जस्तै भएको छ । उनका मन्त्रीहरु मधेश सरकारमा बसेर पनि न काम गर्न सकेको छ न त सरकार नै छोडन सकिरहेको छ । राजेको मन्त्रालय नपाएपछि संघिय सरकारबाट बाहिरएका जनमत पार्टी उपराष्ट्रपति र बारा २ को उपनिर्वाचनमा जसपा विरुद्व लागेपनि जसपा नेतृत्वकै मधेश सरकारमा जनमत सेफजोनमा हुनुको यस्तो छ कारण :
मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव मात्र होइन उनको पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवको ईच्छा विपरित जनमत पार्टी मधेश सरकारमा बसिरहेको छ । जसपाका नेताहरु उपराष्ट्रपति र बारा २ को उपनिर्वाचनमा गठबन्धन विरुद्व लागेको जनमत पार्टी नैतिकताको आधारमा पनि गठबन्धन र सरकारबारे सोच्नुपर्ने बताइरहेपनि जनमत टसमस भइरहेको छैन । मंगलवार प्रदेशसभा प्राङ्गणमा जसपा प्रवक्ता मनिष सुमनले एसपी खवरलाई भने, ‘अनुशासनहिन काम गरेर पनि अव के गर्ने भन्ने सोच्ने जिम्मा पनि जनमतकै छ ।’
एता जनमत पार्टीले जसपा नेतृत्वको सरकारमा आफुहरु रहेपनि जसपाले काम गर्न नदिएको आरोप लगाइरहेको छ । जनमत पार्टीका मधेश प्रदेश संसदिय दलका नेता महेश प्रसाद यादव मधेशको शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री हुन । समाजिक विकासबाट अलगिएर बनेको यो मन्त्रालयका मन्त्री यादवलाई समाजिक विकास मन्त्रालयकी मन्त्री जसपा नेतृ सुरिता कुमारी साहले शिक्षाको फाइलहरु नदिएर असहयोग गरिरहेको मन्त्री यादवको दावी छ ।
यस्ले पनि जसपा र जनमत बिचको टकरावलाई उदांगो गरिरहेको छ । यद्यपि दुवैदलका नेताहरु मधेश सरकार कसैको बहुमतमा नभई गठबन्धनको आधारमा बन्ने भएकाले कुन पार्टीले के पाउने भन्ने निश्कर्ष शिर्षनेताहरुले लगाउने र आफुहरु पालना गर्ने बताउछन् । गठबन्धनको नेतृत्वकर्ता कांग्रेस र लोसपा पनि जनमतलाई सरकारबाट हटाउन नचाहेकाले जनमत सरकारमा यथावत र ढुक्क छन् । यस अघि एमाले सहितको सरकार बनेकाले कांग्रेस प्रमुख प्रतिपक्षी थिए ।
नयाँ गठबन्धन बनेपछि एमाले सरकारबाट बाहिरएपनि सरकारलाई दिएको समर्थन यथावत थियो तर एमाले प्रमुख प्रतिपक्षी बन्न मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराउदै मंगलवार प्रमुख प्रतिपक्षीको बेन्चमा बसेको छ । सो विषय मंगलवारको प्रदेशसभा बैठकमा सभामुखले जानकारी गराएका छन् ।
एमालेको समर्थन फिर्ता संगै अव जसपाको वर्तमान सरकार बचाउन कांग्रेस नभई नहुने भएको छ । सरकार अल्पमतमा पर्ने डरले जसपाले कांग्रेस र लोसपाको बटमलाईन सम्बोधन गर्नुपर्ने नभए कांग्रेसले जसपा बाहेक जनमतको साथ लिएर लोसपा, माओवादी र नेकपा एसको समर्थनमा सरकार बनाउने रणनिति अख्तियार गर्ने देखिन्छ ।
त्यस कारणलेपनि जनमत पार्टी मधेशको दोस्रो ठुलो दल कांग्रेस र अर्का महत्वकांक्षी दल लोसपाका लागि आवश्यक भएकाले उनीहरुको साथ पाइरहेको छ । कांग्रेस मधेशका सभापती कृष्ण यादवले भने, ‘परिस्थितीलाई बिचार गर्दै अगाडि बढनु पर्छ वाँकी अहिले भने हामी शिर्षनेताहरुको निर्देशक कुरेर बसेका छौं ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आजै बालुवाटारमा गठबन्धनकारी दश दलको बैठक बसिरहेको जस्मा यस विषयमा पनि छलफल हुने बताइएको छ ।
कांग्रेसले अव आफनो अनुकुल सरकार विस्तार गर्न नभए बिश्वासको मतको सामना गर्न मुख्यमन्त्रीलाई दबाब बढाउने छ । जसपाले नमाने कांग्रेस आफनै वा लोसपा नभए जनतमको नेतृत्वमा आफु अनुकुल सरकार बनाउन सक्ने आधार पनि छ । १०७ सदस्यीय मधेश प्रदेशसभामा गठबन्धनकारी कांग्रेसको २२, जसपाको १८, जनमत पार्टीको १३, लोसपा र माओवादी केन्द्रको ९–९, एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्ति पार्टीको १ सिट छ । कांग्रेसले चाहेको खण्डमा जसपा बाहेक पनि गठबन्धन आवद्व अन्य दलहरुको संख्या जोडदा ६१ हुन्छ जो सरकार बनाउन चाहिने ५४ सिट भन्दा बढि नै हो ।