एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २८ : गत बैशाख १० गतेको उपनिर्वाचन संगसंगै अन्य छ प्रदेशका सरकारहरुको नेतृत्व फेरिए भने परिमार्जन समेत भयो । तर मधेश सरकार परिमार्जन हुन सकेको छैन । उपनिर्वाचनमा गठबन्धन विरुद्व उम्मेदवारी दिएपनि जनमत अझै सरकारमा छ भने एमालेले छोडेका मन्त्रालयहरु खाली नै छ । के हुदैछ मधेश सरकारको ?
गत बैशाख १० गतेको निर्वाचन सम्पन्न हुने वितिकै मधेश सरकारले या त पुर्णता पाउने नभए परिमार्जन हुने सबैको आंकलन थियो । तर निर्वाचन सम्पन्न भएको तिन सप्ताह हुन लाग्दा समेत मधेश सरकार पुर्णता पाउन सकेको छैन । गठबन्धनबाट बाहिरएर प्रतिपक्षी बनेको एमालेलाई सरकारबाट हटाइए तर गठबन्धन विरुद्व बारा २ मा उम्मेदवारी दिएका जनमत र नागरिक उन्मुक्ती पार्टी क्रमश मधेश र संघिय सरकारमा यथावत छन् ।
गठबन्धनको मर्म अनुसार मधेश सरकारको परिमार्जनको जिम्मा कांग्रेस सभापती शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई दिइएको बताइन्छ । अव मधेश सरकार कहिले र कसरी परिर्माजन हुन्छ भन्ने प्रश्नमा विहिवार जनकपुरधाम आएका लोसपा अध्यक्ष ठाकुरले अन्य प्रदेश जस्तै मधेश सरकारको पनि नेतृत्व परिवर्तण भई नयाँ सरकार बन्ने धारणा राखेका छन् ।
उनले आफनो पार्टी लोसपाको समेत सरकारको नेतृत्वमा दावी रहेको सम्म बताए । हाल जसपाको नेतृत्वमा मधेश सरकार छ । जस्मा जनमत र माओवादी पनि सामेल छ । यस सरकारमा तिन मधेश केन्द्रित दलहरु जसपा, लोसपा र जनमत कस्ले नेतृत्व गर्ने विषयमा विवाद छ भने थप कांग्रेसले पनि नेतृत्व पाउनुपर्ने अडान कांग्रेसका नेताहरुले नेतृत्वलाई दिइरहेका छन् । बारा २ मा जसपा अध्यक्ष यादवलाई खुलेर चुनाव जिताएको भन्दै कांग्रेसको यस्तो दावी छ । तर लोसपा कांग्रेस अन्य प्रदेशमा समेत नेतृत्व गरिरहेकाले मधेशमा आफुले अव नेतृत्व पाउनुपर्ने र यस्ले गठबन्धनमा सन्तुलन हुने दावी गरिरहेको छ ।
जनमतको पनि मुख्यमन्त्रीमा दावी छ । संघिय सरकारमा मागेको मन्त्रालय उद्योग, बाणिज्य तथा आपुर्ती नपाउँदा बाहिरएको जनमत मधेश सरकारको नेतृत्व पाउनुपर्ने नभए गठबन्धन छोडने मुडमा छन् । उपनिर्वाचन जितेका गठबन्धनको नेतृत्वकर्ता समेत रहेका जसपा अध्यक्ष यादव आफनो नेतृत्वको सरकार बचाउने नभए कांग्रेसलाई नेतृत्व दिन सक्ने स्रोतको दावी छ ।
केहि दिन अगाडि मात्र मुख्यमन्त्री सरोज कुमार यादवलाई काठमाण्डौं बोलाएर छलफल गरि यादवले परिस्थिती बारे जानकारी गराइसकेको बताइन्छ । मुख्यमन्त्री यादवले राजिनामा दिन सक्ने हल्ला चलेपनि उनको सचिवालयले यस विषयमा अनभिज्ञता प्रकट गरेको छ । एता जसपा अध्यक्ष यादव पनि सडकमार्ग हुदै जनकपुरधाम आइपुगेको छ । जनकपुरधाम स्थित गायत्री परिवारको कार्यक्रममा सहभागि भएका यादव पार्टीको आन्तिर बैठकमा नेताहरुसंग छलफल गरिरहेका छन् ।
जसपाका एक नेताले अध्यक्ष सहित पार्टीको आन्तिरक बैठक चलिरहेको बताएका छन् । त्यसपछि यादव र ठाकुर बिच विहिवार रातीनै छलफल हुने र भोली सम्म मधेश सरकार परिमार्जनको रुपरेखा तयार हुने बताइएको छ । मुख्यमन्त्री यादवलाई राजिनामा दिन लगाएर सरकार पुर्नगठनका लागि बाटो खुल्ला गर्ने समेत एक विकल्पमा कुराकानी भइरहेको स्रोतको दावी छ ।
डा. सिके राउत पनि जनकपुरधाम आइपुगेको चर्चा चलेपनि एसपी खवरसंगको कुराकानीमा उनी समाचार तयार पार्दा सम्म आफु काठमाण्डौंमै रहेको बताए । सकभर आफै नभए मधेशको दोस्रो ठुलो दल कांग्रेसलाई नेतृत्व दिएर लोसपा र जनमतलाई मुख्यमन्त्री बन्न रोक्ने योजना जसपाको छ भने आफुले नपाए मुख्यमन्त्रीमा लोसपा वा जनमतलाई अघि सारेर जसपाको चाहना निष्तेज पार्ने योजना कांग्रेस र ति दलका प्रदेशका नेताहरुको छ । जनमत बाहेकका दलले मुख्यमन्त्री पाए जनमत मधेश सरकार पनि छोडेर संघ र प्रदेश दुवैमा प्रतिपक्षीमा बस्ने तयारीमा रहेको छ ।
जेठ २ गते बोलाइएको मधेश प्रदेशसभाको बैठकमा हाल एमालेबाट सभामुख रहेको रामचन्द्र मण्डललाई समेत हटाउने प्रस्ताव आउन सक्ने आशंका गरिदैछ । गठबन्धन आवद्व सबै दलका मधेशका नेतृत्वकर्ता नेताहरु आफुहरु केन्द्रिय निर्देशन पर्खिरहेको बताउदै यस विषयमा केहि बोल्न नसक्ने बताउछन् ।