पुरन रौनियार
जनकपुरधाम, चैत २१ : मधेश प्रदेश सरकारबाट नेकपाका मन्त्री र राज्यमन्त्रीहरुले राजिनामा दिएका छन् । मंगलवार मुख्यमन्त्री सरोज कुमार यादवलाई सामुहिक राजिनामा बुझाएको एमालेका चार मन्त्री र एक राज्यमन्त्रीको राजिनामा मुख्यमन्त्रीले स्वीकृत गरेको छ ।
सोमवार मधेश प्रदेशको बारा २ मा उपनिर्वाचनका लागि भएको मनोनयनको असर मधेश सरकारमा परेको छ । कांग्रेस, माओवादी, नेकपा एस र लोसपाको समर्थनमा बारा २ मा उम्मेदवारी दिएका मधेश सरकारको नेतृत्वकर्ता जसपाका अध्यक्ष उपेन्द्र यादव विरुद्व एमालेले उम्मेदवारी दिएपछि केन्द्रिय निर्देशक भन्दै मधेश प्रदेश संसदिय दलका नेता समेत रहेका मुख्यमन्त्री सरोज कुमार यादवले एमालेका मन्त्रीहरुलाई राजिनामा गर्न भनेपछि एमालेका मन्त्रीहरुले राजिनामा दिएका मुख्यमन्त्री यादव बताउछन् ।
यद्यपि एमालेका नेताहरु भने बारा २ मा उम्मेदवारी दिएको कारण भन्दा पनि केन्द्रिय सत्ता समिकरणमा आएको बदलावका कारण आफुहरु मुख्यमन्त्रीलाई काम गर्न सहज होस भन्ने अभिप्रायले राजिनामा बुझाइएको बताउछन् । यद्यपि उनीहरुले सरकारलाई दिइएको समर्थनको बारेमा भने अहिले कुनै निर्णय लिन नसकेको उपनिर्वाचन पछि मात्र निश्कर्षमा पुग्ने बताउछन् ।
जनमतले केन्द्रिय सरकार त्यागेको, बारा २ मा गठबन्धन विरुद्व नै उम्मेदवारी दिएपनि मधेश सरकारमै बस्ने हो त ? भन्ने प्रश्नमा मुख्यमन्त्री यादवले आफुलाई जनमतको विषयमा केन्द्रिय निर्देशन केहि पनि नआएकाले जनमतको बारेमा केहि भन्न नसकिने बताए ।
मुख्यमन्त्री यादवले अव कांग्रेस, लोसपा र नकेपा एस सरकारमा सहभागि हुने बताउदै उपनिर्वाचन पछि मात्र उहाँहरुलाई कसरी सहभागि गराउने भन्ने विषयमा छलफल हुने समेत बताए । कांग्रेसले मुख्यमन्त्री आफुले पाए बारा २ मा जसपा अध्यक्ष यादवलाई सहयोग गर्ने बटमलाई राखेको हो ? भन्ने प्रश्नमा उनले केन्द्रिय निर्देशन र निर्णय त्यस्तै भए आफुले मान्नै पर्ने उनले बताए ।
सरकार छोडेपनि एमालेले सरकारलाई समर्थन दिइरहनु र जनमत यथास्थितीमा सरकारमै रहनुको कारण छ । बारा २ मा एमालेको उम्मेदवारी पछि गठबन्धनको दबाबका कारण मुख्यमन्त्रीको आग्रहमा एमालेले सरकार छोडेको भएपनि चुनाव पछि कांग्रेसले मुख्यमन्त्रीमा दावी गरेको परिस्थतीमा मुख्यमन्त्रीमा पुन: जसपालाई नै समर्थन गरेर जनमत सहित अहिलेकै सरकार टिकाईराख्ने रणनिती जसपाले अपनाउने छ ।
भौतीक पुर्वाधार, गृह तथा सञ्चार, कानुन न्याय तथा प्रदेशसभा मामिला, युवा तथा खेलकुद सहित चार मन्त्री र गृह तथा सञ्चार राज्यमन्त्री सहित पाँचैजनाले राजिनामा दिएको एमाले मधेश प्रदेशमा २४ सांसद सहित प्रदेशको पहिलो दल रहेको छ । केन्द्रमा माओवादी जस्तै मधेशका तेस्रो दल जसपाको पनि दुवै हातमा लड्डु छ । कांग्रेसलाई रोक्न एमाले र एमालेलाई कांग्रेस रोक्न खोज्ने भएकाले चुनाव पछि पनि मधेश प्रदेशको साँचो जसपाकै हातमा रहने देखिन्छ ।
एमालेको राजिनामा पछि खाली भएका मन्त्रालयहरुको जिम्मेवारी प्रदेश प्रमुख हरिशंकर मिश्रले तत्काल मुख्यमन्त्री ले नै सम्हाल्ने गरि जिम्मेवारी तोकेका छन् ।