पुरन रौनियार
जनकपुरधाम, माघ १७ : अव सबैको ध्यान राष्ट्रपति निर्वाचन तर्फ केन्द्रित छ । निर्वाचन आयोग फागुन १३ गते मनोनयन र २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजानिक गरिसकेको छ । राष्ट्रपति निर्वाचनले वर्तमान सत्ता गठबन्धनको मात्र होइन देशकै राजनितिक बाटो तय गर्ने चर्चा चुलिएको छ । राष्ट्रपति निर्वाचनमा पनि निर्णायक देखिएको वर्तमान सरकारको नेतृत्वकर्ता माओवादीमा अहिले के गर्ने ? भन्ने नै गम्भिर विषय हो ।
एता यस निर्वाचनमा मधेश केन्द्रित दल भनिने साना दलहरुको पनि उतिकै महत्व छ । कुनै गठबन्धनको आधारमा भन्दा पनि जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्ती दलहरु राष्ट्रपति निर्वाचनमा मिलेर जाने संकेत देखाइरहेको छ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एस पनि यि दलहरुको लाइनमै देखिने गरेकाले यो समुह पनि राष्ट्रपति चयनमा निर्णायक समुह बनिसकेको छ ।
राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतभारबाट हुने निर्वाचनमा माओवादी कांग्रेस र एमालेको तानातानमा देखिन्छ । ५२ हजार ६२८ को कूल मतभारमा राष्ट्रपतिमा विजयी हुन बहुमत अर्थात् २६ हजार ३१५ मत कटाउनुपर्ने हुन्छ । राष्ट्रपति चुनावमा प्रमुख दाबेदार कांग्रेसको १६ हजार २२१ मत छ । अर्को दाबेदार एमालेको मत १५ हजार ३६० मत छ ।
यी दुवै दलबीचको प्रतिस्पर्धामा माओवादीको ७ हजार ८२४ मत निर्णायक अवस्थामा छ । माओवादीको भोट आकर्षित गर्न सक्ने दलले नै अन्य साना दलबाट आवश्यक मत पाउन सक्ने देखिन्छ । २ हजार ४५० मत भएको राप्रपा र १ हजार ५०१ (रविको सांसद पद खारेजीपछि) मत भएको रास्वपा एमाले निकट देखिएका छन् । यी दलको मत १९ हजार ३११ छ ।

अहिलेको सत्ता गठबन्धन अनुसार एमाले, माओवादी, राप्रपा र रास्वपा मिले २७ हजार २१४ मत कटाउनेछन् । तर एमालेलाई राष्ट्रपति दिन माओवादीले आनाकानी गरिरहेको छ । विगतमा राष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमुखी निर्णय र अडानहरुका कारण प्रचण्डले एमालेलाई राष्ट्रपति दिए आफै पनि पङ्गु बन्नेमा त्रसित छ । एमाले भने सत्ता गठबन्धन बन्दाको सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने अडानमा छ ।
राष्ट्रपति, सभामुख, महत्त्वपूर्ण मन्त्रालयसहितका शक्तिशाली पदमा एमाले पुग्दा जोखिम हुने बुझाइ माओवादीको छ । यसैले उसको प्राथमिकता सकेसम्म राष्ट्रिय सहमति होस् भन्नेमा छ । तर एक महिनाअघि मात्रै बनेको सत्ता समीकरणको सहमतिबाट पछाडि फर्किँदाको नैतिक संकटको डर पनि उसलाई उत्तिकै छ ।
यस्तोमा माओवादी बाहेकका दल पनि निर्णायक मत लिएर बसेका छन् । २ हजार ४९४ मत भएको नेकपा एस, २ हजार १४५ मत भएको जसपा, १ हजार २४२ मत भएको जनमत, १ हजार ०१९ मत भएको लोसपा र ८९२ मत भएको नागरिक उन्मुक्ति पार्टीको मत राष्ट्रपतिका लागि निकै महत्त्वपूर्ण रहेको देखिन्छ । यी दलको कुल मत ७ हजार ७९२ छ । जुन माओवादीको भन्दा ३२ मतले कम हो । यी दलले मत नदिए कांग्रेस र माओवादी मात्रै मिल्दा पनि राष्ट्रपति जित्ने अवस्था हुँदैन ।
एमाले, राप्रपा र रास्वपाको १९ हजार ३९० मतमा यी नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीको मत जोड्दा २७ हजार १८२ मत पुग्ने देखिन्छ । साना दललाई मनाउन सके एमालेले कांग्रेस र माओवादी विना नै राष्ट्रपतिको चुनाव जित्न सक्ने देखिन्छ । तर, एमालेले राप्रपा र रास्वपालाई बढी च्याप्दा अन्य दलसँग सम्बन्ध बिगारिरहेको छ भने एमालेले उठाउने उम्मेदवारमा पनि यस्ले महत्व राख्दछ ।
उम्मेदवारले प्रभावित हुन्छ राष्ट्रपति निर्वाचन
यस्तो गणितको अवस्थामा अव राष्ट्रपतिमा दावी गरिरहेको एमाले र कांग्रेसले उठाउने उम्मेदवारको आधारमा राष्ट्रपतिको निर्वाचनले प्रभाव पार्ने देखिन्छ । एमालेले दावी गरेपनि उनले उम्मेदवार खुलाउन सकेका छैनन भने सुभाषचन्द्र नेम्वाङ्गको नाम केहि चर्चामा छ । कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा रहेपनि सानादलहरुले त्यसलाई ग्रिन सिग्नल दिने अवस्था धेरै कम रहेको जानकाहरु बताउछन् ।
यदि एमाले र कांग्रेसले यिनै नामहरुबाट उम्मेदवार बनाउने हो भने माओवादीको सिग्नलमा सानादलहरुले वैकल्पिक कमन उम्मेदवार ल्याउन सक्ने सम्भावना छ । जस्मा लोसपा अध्यक्ष महन्त ठाकुरको नाम पहिलो र सम्भव नभए नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई दोस्रो पात्र हुनेछ । साना दलले यि दुई मध्ये एकलाई उम्मेदवार बनाए कांग्रेस र एमालेको उम्मेदवार कमजोर पर्ने र उनीहरुका लागि बाध्यत्मक स्थितीको पैदा हुन सक्ने आंकलन छ ।
यि हुन ठाकुर सबैका लागि सरल र सहज विकल्प बन्ने आधार
यि दुईमा पनि डा. बाबुराम भट्टराई अव आत्मसम्र्पणको पारामा लगभग माओवादीकै धारमा फर्किसकेकाले प्रधानमन्त्री र राष्ट्रपति पनि माओवादीलाई नै हुन्न भन्दै लोसपाका अध्यक्ष ठाकुर सामुहिक र प्रवल उम्मेदवार बन्न सक्ने देखिन्छ । नरम, शिष्ठ, सालिन र बयोवृद्व अवस्था भएकाले उनले संगालेको राजनितिक अनुभवका हिसावले पनि सानादलको शुभेच्छा सहित ठाकुर दावेदार हुन सक्छ ।
कांग्रेसमा दशकौं दशकको राजनिति जिवन, कांग्रेस छोडदा पनि कांग्रेस विरुद्व दुष्ट र आक्रमक नहुनु कांग्रेसका लागि र एक्लै संसद विघटन गर्दा विषम परिस्थतीमा पनि दिल खोलेर एमालेका अध्यक्ष केपि ओलीलाई ठाकुरले सघाएकाले बाध्यात्मक परिस्थतीमा ठाकुर कांग्रेस र एमालेका लागि पनि कमन व्यक्तित्व हुन जानेछ र ठाकुरको पलरा भारी हुनेछ ।
एता पटक पटक संगै मोर्चा बन्दी गरि मधेशमा आन्दोलन गरेको, पार्टी एकता गरि ठाकुरलाई पहिलो अध्यक्ष मानेर काम गरेको र ठाकुर चुनाव जित्दा महोतरीमा खाली हुने सिटमा चुनाव लडेर संसद बन्ने सजिलो हुने भएकाले जसपा अध्यक्ष उपेन्द्र यादवका लागि पनि ठाकुर उत्तम उम्मेदवार हुनेछ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत जसपा अध्यक्ष यादव संग सम्बन्ध बिर्गान भन्दा पनि अव सुधार्न तर्फ केन्द्रित देखिन्छ ।

उनले संसदमा बोल्ने गरेको भाषण र अन्य अन्तरवार्ताहरुमा पनि यादव प्रति देखाएको सम्मान र सदासयताले त्यसलाई पुष्टी गर्दछ त्यसैले डा. राउत पनि ठाकुरको विरोधमा जादैन गए मधेशमा त्यसको प्रभाव जनमतलाई नराम्रो पार्न सक्ने छ ।
नागरिक उन्मुक्ति पार्टीका सुप्रिमो जेलमा रहेका रेशम चौधरीले ठाकुरलाई स्पष्ट रुपमा भिष्म पितामाह भनिसकेका छन् । उनको ठाकुर प्रतिको सम्मान अपार छ भन्नेमा दुईमत छैन । ठाकुर राष्ट्रपति बने लोसपालाई सम्मान हुने पार्टी मजबुत बनाउन मद्दत हुने भएकाले लोसपाका अर्का नेता राजेन्द्र महतो पनि त्यसमा जोडबल गर्ने छ । नेकपा एसका माधव कुमार नेपालका लागि पनि ठाकुर असहज पात्र होइनन । वर्तमान सत्ता गठबन्धन पछि झस्किएको भारत ठाकुर राष्ट्रपति भए रिल्याक्स महशुस गर्ने भएकाले समेत ठाकुर राष्ट्रपतिमा बलियो उम्मेदवारको रुपमा प्रस्तुत हुने सम्भावना छ ।
विश्लेषक चन्द्रकिशोर झाको फरक मत
मधेश मामिलाका जानकार र वरिष्ठ पत्रकार चन्द्र किशोर झाको भने यस्मा फरक मत छ । वर्तमान सत्ता गठबन्धन, त्यसमा आवद्व राजनितिक दलहरुको प्रवृति र वर्तमान गणितहरुले पनि ठाकुर राष्ट्रपतिमा प्रस्तुत हुने सम्भावना कम रहेको उनको भनाई छ । राज्य र शासक मधेशीलाई अहिले कुनै पनि उच्च संवैधानिक वा सर्वोच्च निकायको प्रमुख पद दिने पक्षमा नरहेको उनको दावी छ ।

झाका अनुसार अहिलेको शासकको बुझाई गणतन्त्र र संघियता पछि मधेशीले धेरै थोक पाइसकेकाले अव त्यसलाई ब्यालेन्स गरौंै भन्ने रहेको छ । देशको राज्यतन्त्रमा अहिले फेरी पनि दाजुवाद हावि भइसकेको उनले बताए । नभए मन्त्रीमण्डलमा मधेशी हेर्नोस, सभामुख, उपसभामुख खोइ त ? उनको प्रश्न थियो । प्रदेशहरुमा र मधेशमा पनि दाजुवाद नै छ भन्दै उनले भने, ‘ नभए मधेशको मन्त्रीमण्डलमा महिला र दलितलाई मन्त्री किन बनाइदैन ? ।’
अव त झन राजनिति गर्न सक्ने पद पनि सावित हुदै गएकाले चार सिटे लोसपालाई राष्ट्रपति किन दिन्छ ? उनको थप प्रश्न थियो ।
उनले ठाकुरलाई भारतमा पनि राष्ट्रपतिको रुपमा पटक पटक चर्चामा आउने कश्मिरका पुर्व राजा करण सिंह तुल्ना गरे उनले भने, ‘उहाँको पनि भारतमा पटक पटक राष्ट्रपतिमा चर्चा हुन्छ तर खोई त ? ।’ जसपा अध्यक्ष यादवका लागि राष्ट्रपति भन्दा पनि उपराष्ट्रपति पहिलो रोजाई रहेको उनको तर्क छ । आश्चर्यजनक रुपमा केहि भयो र कांग्रेस एमाले मध्ये एकले ठाकुरलाई प्रोजेक्ट गरे मात्र यो कुरा सम्भव हुन सक्ने उनको तर्क छ ।