एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ३० :
जनकपुर साहित्य महोत्सवको सातौं संस्करण आगामी जेठ १ गतेदेखि सुरु हुने भएको छ । नव मिथिला फाउण्डेसनको आयोजना तथा फ्याक्ट्स नेपालको प्रायोजनमा हुने महोत्सव जेठ ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सव जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा आयोजना गरिनेछ ।
आयोजक संस्थाका उपाध्यक्ष आदित्य नेपालका अनुसार तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा तथा संस्कृतिलगायत विविध समसामयिक विषयमा १३ वटा खुला प्यानल छलफल गरिनेछ ।
महोत्सवअन्तर्गत ‘मैथिली कथाको नेपाली संसार : माटिक लोक’, ‘जनकपुरको कनेक्टिभिटी र पर्यटनको भविष्य’, ‘किन हुन्छ खेलकुदमा खेलवाड?’, ‘कसरी फर्काउने जनकपुरको शास्त्रार्थ?’, ‘सञ्चारकर्मको बदलिँदो परिदृश्य’, ‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा : सम्भावना, चुनौती र मार्गचित्र’ तथा ‘नेपाली महिला लेखन : संघर्षदेखि सिर्जनासम्म’ लगायतका विषयमा विमर्श हुने जनाइएको छ ।
महोत्सवको उद्घाटन जेठ १ गते दिउँसो २ बजे हुने तय गरिएको छ । उद्घाटन प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
महोत्सवको विशेष आकर्षणका रूपमा जेठ २ गते बिहान ‘सम्पदा पदयात्रा’ आयोजना गरिनेछ । उपाध्यक्ष नेपालका अनुसार पदयात्रामा १२ सयदेखि १५ सय जनासम्म सहभागी हुने अपेक्षा गरिएको छ ।
सम्पदाको महत्व, संरक्षण र अस्तित्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले एकरूप पोशाकमा पदयात्रा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।





