एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ३० :
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल ले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालय तथा रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला को अवलोकन गरेका छन्।
बुधबार जनकपुरधाम पुगेका मन्त्री पोखरेलले दुवै संरचना सम्भावनायुक्त भए पनि राज्यको पर्याप्त लगानी अभावका कारण अपेक्षित रूपमा विकास हुन नसकेको बताएका हुन्।
उनले विश्वविद्यालयसँग आफ्नै जग्गा भए पनि हालसम्म आफ्नै स्थानमा स्थानान्तरण हुन नसक्नु दुःखद विषय भएको उल्लेख गरे। विश्वविद्यालयको भौतिक पूर्वाधार विकास तथा दीर्घकालीन व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए।
त्यसैगरी, मन्त्री पोखरेलले रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि आवश्यक सरकारी लगानी हुन नसकेको स्वीकार गरे। विभिन्न निकायबाट अनुदानका प्रस्ताव आए पनि त्यसबारे प्रभावकारी छलफल प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ थियो।

मन्त्री पोखरेलले विश्वविद्यालयलाई आफ्नै जग्गामा स्थानान्तरण गर्ने तथा रंगशाला निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा छिट्टै आवश्यक छलफल सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।
अवलोकनका क्रममा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य मनिष झा समेत सहभागी रहेका थिए।