एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २८ :
मधेस प्रदेशमा एचआइभी संक्रमणको अवस्था फेरि चिन्ताजनक बन्दै गएको देखिएको छ। पछिल्ला वर्षहरूमा संक्रमण नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि नयाँ संक्रमितको संख्या क्रमशः बढ्न थालेपछि स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
स्वास्थ्य निर्देशनालय मधेसले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षमा एचआइभी परीक्षणको दायरा अघिल्लो वर्षको तुलनामा घटेको भए पनि पोजिटिभ दर भने उही स्तरमा कायम रहेको छ। स्वास्थ्यकर्मीहरूका अनुसार यसले प्रदेशमा वास्तविक संक्रमितको संख्या अझ बढी हुन सक्ने संकेत गरेको छ।
स्वास्थ्य निर्देशनालय मधेसका सूचना अधिकारी राजवीर यादवका अनुसार गत आर्थिक वर्षमा धेरै व्यक्तिको परीक्षण गरिएको थियो र त्यतिबेला एचआइभी पोजिटिभ दर ०.६ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षमा परीक्षण संख्या घट्दा पनि पोजिटिभ दर पुनः ०.६ प्रतिशत नै कायम रहनुले संक्रमण समुदायस्तरमै फैलिरहेको अनुमान गर्न सकिने उनले बताए।
उनका अनुसार राष्ट्रिय औसतको तुलनामा मधेस प्रदेशको अवस्था अझ गम्भीर देखिएको छ। देशभर एचआइभी संक्रमणको औसत पोजिटिभ दर ०.५ प्रतिशत रहेको अवस्थामा मधेसमा त्योभन्दा बढी देखिनु चिन्ताको विषय भएको उनले बताए।
निर्देशनालयका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी एचआइभी संक्रमित पर्सा जिल्लामा रहेका छन्। पर्सामा हाल १ हजार ५ सय ४ जना संक्रमित रहेका छन्। त्यसपछि धनुषामा ८ सय ८६, रौतहटमा ५ सय ४०, सर्लाहीमा ५ सय ८, सिरहामा ४ सय ५७, महोत्तरीमा ३ सय ७१ तथा बारामा २ सय २२ जना संक्रमित रहेको तथ्यांकमा उल्लेख छ।
स्वास्थ्यकर्मीहरूका अनुसार भारतसँगको खुला सीमा, वैदेशिक रोजगारी, सुरक्षित यौन व्यवहारबारे पर्याप्त चेतनाको अभाव, परीक्षणप्रति रहेको डर तथा सामाजिक विभेदजस्ता कारणले संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको छ। अझै पनि धेरै मानिसहरू एचआइभी परीक्षण गराउन हिच्किचाउने र संक्रमित पुष्टि भएपछि पनि नियमित उपचारमा नआउने समस्या रहेको उनीहरूको भनाइ छ।
यसैबीच, एएचएफ नेपालले मधेस प्रदेशसहित देशका विभिन्न क्षेत्रमा एचआइभी संक्रमित समुदायसँग निरन्तर काम गर्दै आएको जनाएको छ। एएचएफ नेपालका कार्यक्रम संयोजक बिमल कुमार साहका अनुसार संस्थाले सन् २००९ देखि सरकारी अस्पतालहरूसँग सहकार्य गर्दै परीक्षण, उपचार, परामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
उनका अनुसार मधेस प्रदेशअन्तर्गत प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पतालसहित देशभरका १९ अस्पतालमार्फत एचआइभी सम्बन्धी सेवा उपलब्ध गराइँदै आएको छ। संक्रमितलाई नियमित औषधि सेवन, मानसिक परामर्श, सामाजिक सहयोग तथा समुदायस्तरमा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए।
संचारकर्मीहरुसंगको अन्तरकृया कार्यक्रममा मधेसको स्वास्थ्य मन्त्रालयका सचिव प्रमोद यादव, स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादव, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहको उपस्थिति रहेको थियो ।





