एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २८ :
धनुषामा महिलाहरूमा पाठेघर तथा स्तनसम्बन्धी समस्या बढ्दै गएको गुनासो बढ्न थालेपछि जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। शिविरमा जाँच गराउन आएका अधिकांश महिलामा पाठेघर तथा स्तनसम्बन्धी समस्या देखिएको चिकित्सकहरूले बताएका छन्।
सोमबार महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा सम्पन्न शिविरमा २ सय ५० भन्दा बढी महिलाले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरको नेतृत्व गरेका भक्तपुर क्यान्सर अस्पतालका परामर्शदाता प्रमोदराज ढकालका अनुसार परीक्षणका क्रममा अधिकांश महिलामा पाठेघर तथा स्तनसम्बन्धी समस्या देखिएको पाइएको छ।

उनका अनुसार शिविरमा जाँच गराएकामध्ये ७ जना महिलामा क्यान्सरको लक्षणसमेत देखिएको छ। ती महिलाहरूको आगामी उपचार पनि निःशुल्क रूपमा गरिने उनले जानकारी दिए।
पूर्व प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतोले जनकपुरधाम क्षेत्रमा यस प्रकारको निःशुल्क स्वास्थ्य शिविर पहिलो पटक आयोजना गरिएको बताइन्। महतोको पहलमा आयोजित शिविर खासगरी पछाडि पारिएका समुदायका महिलालाई लक्षित गरिएको उनले जानकारी दिइन्।
महिलाहरूमा पाठेघर तथा स्तनसम्बन्धी समस्या बढ्दै गएपछि करिब एक वर्षको प्रयासपछि शिविर आयोजना गरिएको उनको भनाइ थियो।
उपचारमा संलग्न चिकित्सकहरूले बालविवाह, महिनावारीका समयमा उचित स्याहारको अभाव तथा स्वास्थ्य सचेतनाको कमीका कारण महिलामा पाठेघरसम्बन्धी समस्या अत्यधिक देखिने गरेको बताएका छन्।





