पुरन रौनियार
जनकपुरधाम, माघ ४ : एमालेको बैशाखी टेकेर नेपाल सरकारका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसले बिश्वासको मत दिएपछि खैलाबैला मच्यो । कसैले इतिहाँसकै पहिलो घटना भने भने कसैले प्रतिपक्षी विहिन संसदको परिकल्पना गरे । त्यसो त प्रचण्ड प्रधानमन्त्री बन्नु कांग्रेसका लागि स्वभाविक पनि थिएन । तर प्रचण्डको पाइलाले कांग्रेस प्रचण्डले जे पनि गर्न सक्छ भन्ने निश्कर्षमा यसपालि पुगेको भने देखिन्छ ।
त्यसै कारणले हुन सक्छ कांग्रेस प्रचण्डलाई बिश्वासको मतको भुमरीमा घेर्ने रणनिती बनाइसकेका छन् । नेपाल सरकारमा मात्र होइन त्यसपछि कांग्रेसले माओवादीको नेतृत्वमा बनेको बागमती र कर्णाली प्रदेशको सरकारलाई पनि समर्थन गरेको छ । यति मात्र होइन मधेशमा प्रभावशाली मानिएको उपेन्द्र यादव नेतृत्वको मधेश प्रदेश सरकारलाई समेत कांग्रेसले भावनात्मक परिधि भित्र कैद गरेको छ । मधेशमा एमालेको भागमा परेको सभामुख पदमा उम्मेदवारी दिएको कांग्रेस जसपाको मुख्यमन्त्री पदमा बिना सर्त समर्थन गरेको छ ।
के हो कांग्रेस निति ?
कांग्रेसको यस नितिलाई जानकारहरु विभिन्न किशिमले बिश्लेषण गरिरहेका छन् । कसैले कांग्रेसको कदम प्रचण्डलाई दुई वर्ष गुड फेथमा राखेर त्यसपछिको चुनावी सत्ता हत्याउने रणनिती बुझिरहेका छन भने कसैले एमालेलाई तनाव दिएर उसलाई पनि आफु तिर सकारात्मक बनाउने चालको रुपमा लिइरहेको छ । कांग्रेसले नेपालमा आफनो मुख्य राजनितिक प्रतिस्पर्धी एमाले नै रहेको बुझिसकेको र एमालेलाई एक्ल्याउन सके मात्र आफनो सफलता र नेतृत्व यथावत रहने पनि पछिल्लो घटनाहरुले थाह पाइसकेको हुनुपर्छ ।
प्रतिनिधीसभाको सभामुखमा एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाउँदा कांग्रेसले सभामुखमा महिला उम्मेदवार ल्याएका छन् । बुधवार कांग्रेसको तर्फबाट ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिएकी छिन् । माओवादीका नेताहरुका अनुसार सभामुखमा एमालेका उम्मेवारको जित निश्चित देखेरै कांग्रेसले कमजोर उम्मेदवार ल्याएको हो ।
त्यसैले पनि कांग्रेसले माओवादीलाई सहजता प्रदान गरि खुसी पार्दै जाने र एमालेका हरेक कमदलाई चुनौती दिने रणनिती बनाइरहेको देखिन्छ । यस्ले प्रतिनिधीसभाको सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई फाइदा हुने पनि आशंका गरिन्छ । तर त्यसको सम्भावना कम रहेको जानकारहरु बताउछन् । किनकी माओवादीले भर्खन सुध्रिन लागेको एमाले संगको सम्बन्धलाई तत्कालै तुरन्त बिगार्ने पक्षमा जादैनन ।
सभामुख र राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको यो रणनितीले तत्कालै असर पार्ने सम्भावना कम रहेपनि दिर्घकालिन रुपमा एमालेका लागि राम्रै चुनौती र प्रचण्डका लागि आरामदायि मलहमको रुपमा काम गर्ने देखिन्छ । माओवादीलाई कांग्रेसले गरेको सर्मथनले सरकारको हरेक गतिविधीमा कांग्रेस संगको परामर्श, छलफल र सुझावको बाटो खुल्ला भएको छ भन्ने प्रचण्डसंगको उठवस स्वभाविक भएर पुनः यस अघिको सम्बन्धले गति लिने बिश्वास कांग्रेसको छ । यद्यपि सभामुख र राष्ट्रपतिको निर्वाचनमा फरक नतिजा आए वतर्मान सत्ता गठबन्धन धवस्त हुने आंकलन गरिन थालिएको छ ।