एसपी रिपोर्टर
जनकपुरधाम, असोज २२ : जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि सत्ता गठबन्धनमा प्रवेश गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधि सभामा ८ सिट पाउने भएको छ । शनिबार बिहानदेखि बेलुकासम्म प्रधानमन्त्री निवास बालुवाटारमा चलेको छलफलबाट ८ सिट लिने सहमति भएको लोसपा नेता लक्ष्मणलाल कर्णले बताए ।
‘गठबन्धनबाट हामीले प्रतिनिधि सभाका ८ र प्रदेश सभाका १६ सिट लिने भएका छौं । हामीले रोजेर सिट लिन्छौं । बाँकीमा उहाँहरूले उम्मेदवार उठाउनुहुन्छ,’ कर्णले भने । निर्वाचन क्षेत्रबारे छलफल अहिले पनि जारी रहेको उनले बताए ।

गठबन्धनमा कांग्रेसले ८८, माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिटमा लड्ने भएका छन् । सत्ता गठबन्धनको सहयात्री दल जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोसपा गठबन्धनमा सहभागी भएको हो ।
शनिबारको छलफलमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सहभागी छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू शरतसिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाल लगायत सहभागी छन् । जसपाले भने केहि सिटमा मित्रवत प्रतिस्पर्धा बाहेक नेकपा एमाले सँग १४ जिल्लामा चुनावी तालमेल गरिसकेको छ ।