एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३ : नेपाल रेल्वे कम्पनीले जयनगर–कुर्थासम्म चल्दै आएको रेल सेवालाई विस्तार गर्ने भएको छ । कम्पनीले अब जयनगरदेखि महोत्तरीको भंगहा–सितापुरसम्म रेल सेवा चलाउने तयारी गरेको हो । यसका लागि बिहीबार स्पीड ट्रायलसमेत गरिएको छ । बिहान करिब ११ बजे कुर्थाबाट बर्दिबास खण्डमा पर्ने महोतरीको भंगहा स्टेशन सम्म रेल गुडाएर स्पीड ट्रायल गरिएको छ ।
ट्रायलका क्रममा कुर्थादेखि भंगहासम्म रेललाई दुई पटक ओहोरदोहोर गराइएको थियो । हरेक पटक रेलको गति फरक फरक गरी गुडाइएको छ । रेल्वे कम्पनीले कुर्थादेखि बिजलपुरासम्म रेल चलाउने तयारी गरेको भए पनि केही काम बाँकी रहेकाले भंगहासम्म मात्र स्पीड ट्रायल गरिएको छ ।
बिहीबार ट्रायल भए पनि भंगहासम्म नियमित रेल सेवाका लागि केही समय प्रतीक्षा गर्नुपर्ने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभएको छ । उहाँले स्टेशन तथा हल्टहरूका भौतिक संरचना निर्माणको केही काम बाँकी रहेको र ती भौतिक संरचना भारतीय पक्षबाट कम्पनीलाई हस्तान्तरण हुन बाँकी रहेकाले केही समय लाग्ने पनि उहाँले बताउनुभयो । कुर्था स्टेशनदेखि भंगहा स्टेशनको दूरी करिब १७ किलोमिटर रहेको छ ।
यो खण्डमा पिपरारी स्टेशन, लोहरपट्टी हल्ट, सिंग्याही हल्ट र भंगहा–सितापुर स्टेशन पर्छन् । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ ।