एसपी रिपोर्टर
जनकपुरधाम, साउन ७ : जनकपुरधामको वडा नं. ८ स्थित करिव १० कठ्ठा जग्गा भुमाफियाले आफनो नाममा दर्ता गर्न लागि परेको रहस्य खुलेको छ । भित्रभित्रै नामसारीको प्रक्रियामा रहेको सो जग्गाको कागजात नापी कार्यालय धनुषामा पुगेपछि शंका उत्पन्न भएको हो । कार्यालयले गत साउन ४ गते दुईवटा सम्बन्धित कार्यालयलाई सो जग्गाको स्पष्ट विवरण बुझाउन पत्र समेत काटेको छ ।
नापीले मालपोत कार्यालय धनुषा र वडा कार्यालय जनकपुरधाम–८ लाई पत्र काटेको देखिन्छ । नापीले मालपोतलाई काटेको पत्रमा जनकपुरधाम वडा नं. ८ मा अवस्थित कित्ता नं. २७४ को ३ कठ्ठा १९ धुर र कित्ता नं. २७५ को ६ कठ्ठा २ धुर जग्गाको सक्कल टिप्पनी निर्णयको सक्कल फाइल, कित्ताको श्रेस्ता उतार समेत मगाएको छ ।
साथै वडा नंं. ८ को वडा कार्यालयलाई काटेको पत्रमा सो कित्ताको जग्गाहरुमा हाल कस्ले भोग चलन गरिरहेको छ स्पष्ट हुने गरि सर्जमिन फिल्ड मुचुल्का सहितको सिफारिस पठाउन भनिएको छ । एसपी खवरले सम्पुर्ण विवरण माग्दा नापी स्रोतले तत्काल धेरै खुलाउन चाहेनन । एक स्रोतका अनुसार यस जग्गाको सम्बन्ध दोहोरो नागरिकताको आरोपमा पुर्पक्षका लागि जेल चलान भएका आनन्द मिश्र (आनन्द मोहन शरण) संग समेत हुन सक्ने बताईएको छ । मिश्रले सो जग्गा हतार हतार नामसारी गर्न चाहेकै बेला उनी जेल चलान हुने अवस्था आएको र नापीलाई शकां भएपछि पत्र काटेको हुन सक्ने स्रोतको भनाई छ ।
नापीका कर्मचारीले कार्यालय प्रुमख नरहेको भन्दै जग्गा सम्बन्धि सम्पुर्ण जानकारी दिन आनाकानी गरेका छन् । पत्रका विषयमा वडा नं. ८ का वडा अध्यक्ष दिनेश सिंहले आफुहरुलाई पत्र प्राप्त भएको र जग्गामा गुठी सहित केहि व्यक्तिहरु समेतले आ–आफनै दावी गरिरहेको बताए । नाम खुलाउन नचाहेपनि सिंहले एकजना पत्रकार सहित दुईतिनजना व्यक्तिले सो जग्गामा दावी गरिरहेको बताउदै आफुहरु सबै कुरा बुझेर मात्र भन्न सकिने उनले बताए ।