एसपी रिपोर्टर
जनकपुरधाम, असार १३ : किसानले मलखाद पाउनुपर्ने लगायत माग गरी नेकपा एमालेका भ्रातृ संगठनहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । सोमबार नेकपा एमाले नगर कमिटी सहित भ्रातृ संगठनहरूका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।
एमाले पार्टी कार्यालयबाट निस्किएको जुलुस कदमचोक, भानुचोक, शिवचोक, जानकीचोक हुँदै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा एमाले जनकपुरधाम नगरकमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीले किसानलाई तत्काल मल खाद उपलब्ध गराउन माग गरेका छन् । उनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अरु कम गर्नसमेत माग गरेका छन् ।
महँगी नियन्त्रण गर्न नसकेको र जनतालाई दु:ख दिने काम मात्र गरेको भन्दै उनीहरूले गठबन्धन सरकारविरुद्ध नाराबाजी पनि गरेका थिए । उनीहरूले किसानलाई रासायनिक मल खाद्य अविलम्ब उपलम्ब गराउनुपर्ने, किसानविरुद्धका नीति खारेज गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्य अरु घटाउनुपर्नेलगायत माग राखेका छन् । प्रदर्शनकारीले सम्पूर्ण श्रमजिवी किसान जनतालाई एकतावद्ध हुन पनि आग्रह गरेका छन् ।
विरोध प्रदर्शनमा धनुषा जिल्ला उपाध्यक्ष भोला यादव, प्रदेश कमिटी सदस्य मनोज खड्का, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष गनौर राउत, नगर उपाध्यक्ष सन्तोष महतोलगायतले प्रदर्शन गरेका थिए । अखिल नेपाल किसान महासंघ धनुषा, अखिल नेपाल महिला महासंघ धनुषा, युवा संघ नेपाल धनुषा लगायत संगठनले प्रदर्शन गरेका हुन् ।