एसपी रिपोर्टर
जनकपुरधाम, असार ३ : नेपाली कांग्रेस केन्द्रिय कार्यालयले जनकपुरधामको मेयरमा निर्वाचित मनोज कुमार साहलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ । हुन त पार्टीको निर्णय विपरित बागी बनेर उम्मेदवारी दिने नेता पार्टीबाट स्वत: निष्काशन हुने नेपाली कांग्रेसको विधान मै छ तर स्रोतका अनुसार पार्टी केन्द्रिय कार्यालयले केहि दिन अगाडि मात्र साहलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गर्दै पार्टीबाट निष्काशन गरिएको पत्र पठाएको छ ।
साह निर्वाचित भइसकेपछिको अवस्थामा पनि उनलाई केन्द्रिय कार्यालयबाट कारवाहीको पत्र आउनुले कांग्रेस धनुषामा चरम गुटगत विवादलाई उदाङ्गो पारेको छ । मेयरमा निर्वाचित साह नेपाली कांग्रेसको विजयी जुलुसमा सहभागि भएपछि उनलाई कांग्रेसीहरुले स्वागत गरेका थिए भने सर्वसाधारणले आलोचना गरेका थिए । तर जुलुसको केहि दिन पछि नै पार्टीको केन्द्रिय कार्यालयबाट कारवाहीको पत्र आउनुले साह अव कांग्रेसमा स्वीकार्य हुने अवस्था तत्कालै नरहेको एक नेताले बताए ।
जनकपुरधामको स्थानिय निर्वाचनमा पार्टीका पुर्व उपसभापती विमलेन्द्र निधीले पार्टीको निर्णय विपरित बागी उम्मेदवार साहलाई जिताउन भुमिका निर्वाह गरेकोमा जसपा, माओवादी सहितका पार्टीहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराउदै कारवाहीका लागि दबाब दिइरहेका छन् । यस्तो अवस्थामा देउवा समुह बागी भएर जितेकालाई अगामि चुनाव अगाडि पार्टी प्रवेश गराउन सक्ने छैन भने निधी समुह मेयर साहलाई चुनाव अगाडि नै पार्टीमा भित्रयाउने प्रयास गरिरहेका छन् ।
यस विषयमा एसपी खवरको प्रश्नमा कांग्रेस धनुषा सभापती योगेन्द्र पजियारले त्यस्तो कुनै पत्र आफुहरुलाई प्राप्त नभएको बताए । उनले भने, ‘पार्टीको निर्णय विपरित बागी भएर चुनाव लडने नेता त विधान अनुसार स्वत: पार्टीबाट निष्काशन हुन्छ नै कारवाही किन गरिरहनु परयो ?’ उनले चुनाव अगाडि नै मेयर साहलाई पार्टी प्रवेश गराउने समेत बताए । साथै सभापती पजियारले क्षिरेश्वरनाथ सहितको पालिकामा पार्टीसंग अन्तरघात गर्नेहरुको नामावली संकलन भइरहेको भन्दै छिट्टै कारवाही गरिने बताए ।
गठबन्धनमा आवद्व जसपाको तर्फबाट मेयर उम्मेदवार बनेका गठबन्धनका उम्मेदवार हराउन कांग्रेसका निधी समुह लागि परेकाले अगामि निर्वाचनमा पनि गठबन्धन जनकपुरधाममा सार्थक नहुने देखिन्छ । कांग्रेस बाहेकका दलहरु प्रदेश र संघिय निर्वाचनमा गठबन्धनबाट कांग्रेसका उम्मेदवारलाई असहयोग गर्ने रणनिति अख्तियार गर्ने संकेत गरेका छन् । यहाँ सम्मकी जसपा, माओवादी र नेकपा एस ले त गठबन्धनका उम्मेदवार हराउन भुमिका खेल्नेलाई अगामि निर्वाचनमा उम्मेदवार नै बनाउन समेत मांग गर्ने रणनिति अख्तियार गर्ने बताइन्छ ।
एमालेमा पनि कारवाहीकै शिलशिला
एता देशै भरि मुख्य प्रतिपक्षी देखिएका नेकपा एमाले धनुषामा पनि कारवाहीको शिलशिला जारी छ । एमाले विदेह नगरपालिका नगरकमिटिले पार्टीका नेताहरु प्रदेश कमिटि उपसचिव फरमुद नदाफ, जिल्ला कमिटि सदस्यहरु धनवन्ती प्रधान, इस्लान राइन र नविन झा लाई कारवाही गरेको छ । गत स्थानिय तहको निर्वाचनमा पार्टीको आधिकारिक सुर्य चिन्हका उम्मेदवार हराउन विभिन्न गतिविधी गरेको आरोपमा उनीहरुलाई गत जेठ २१ नै कारवाही गरिएको छ ।