एसपी रिपोर्टर
काठमाण्डौं, जेठ २६ : नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । कारण हो मन्त्रीहरुको हेरफेर । २२ असोज २०७८ मा मन्त्री बनाउँदा मन्त्री हुन नपाएर असन्तुष्ट भएकाहरूलाई छ महिना पछि मन्त्री बनाउछु भन्दै दुवै पार्टीका अध्यक्ष माधव कुमार नेपाल र उपेन्द्र यादव आश्वासन दिएका थिए तर अहिले मन्त्री भएकाहरु आफुहरु मन्त्री पद नछोडने जबरजस्ती गरिए पार्टी छोडने सम्मको धम्की दिन थालेपछि दुवै पार्टी फुटको संघारमा पुगको बताइन्छ ।
मन्त्री हुनकै लागि दशकौ काम गरेको एमाले छाडेर नेपाल संग नेकपा एसमा लागेका नेताहरु कोहि मन्त्री बाट हटाइए ठिक नहुने त कोहि मन्त्री नबनाइए पार्टीमा किन बस्ने पुन: एमाले फर्किने धम्की सहित सक्रिय छन् । यस अवस्थामा नेपाल र यादव दोधारमा परेका छन् । प्रदेश र संघ निर्वाचनको मुखमा पार्टी फुटे आफुहरु पनि हार्ने भयले दुवै अध्यक्ष बोल्न छाडेका छन् ।
दुवैदलमा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता हुन चाहिरहेका छैनन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले भनेका छन्, ‘हामीलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने केही भएको छैन । भएको भए पो भन्नु । तपाईंहरूले केही नभई बारम्बार सोध्नुहुन्छ ।’ एकीकृत समाजवादीका खतिवडाको यो भनाइले मन्त्री पद छाड्न उनी पनि तयार छैनन् भन्ने पुष्टि हुन्छ । जबकि, पार्टी सचिवालय बैठकले उनको ठाउँमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङको नाम अघि सारेको छ ।
खतिवडासहित एकीकृत समाजवादीबाट देउवा नेतृत्वको सरकारमा चार जना मन्त्री र एक जना राज्यमन्त्री छन् । उनीहरूमध्ये खापुङको बढुवा, तीन जना मन्त्री र एक जना राज्यमन्त्रीको रूपमा नयाँ अनुहारको नाम सचिवालय बैठकले पठाएको छ । स्रोतका अनुसार एकीकृत समाजवादीमा झण्डै बहुमत सांसद संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री प्रेमबहादुर आलेले ‘होल्ड’ गरेका छन् । उनी पनि सरकारबाट फिर्ता हुन चाहिरहेका छैनन् । उनको ठाउँमा पार्टी संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठको नाम सिफारिस भएको छ ।
यी दुई मन्त्री मात्र होइन, पार्टीबाट सरकारमा सहभागी अन्य मन्त्रीहरू पनि फिर्ता हुन चाहिरहेका छैनन् । सहरी विकास मन्त्रीको रूपमा सिफारिस भएका सांसद मेटमणि चौधरीले आजसम्ममा आफूसहित पार्टीले सिफारिस भएका नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने दाबी गर्दै आएका छन् ।
अर्को दल जसपामा भने विवाद भुसको आगोझैँ सल्किरहेको उक्त दलका एक नेताले बताए । विवाद समाधान गर्न अध्यक्ष उपेन्द्र यादवले ढिलाइ गरे विभाजन हुने चरणमा पार्टी पुगेको ती नेताको भनाइ छ । विवादको कारण मन्त्री पद नै हो । पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरू छ महिना त के आठ महिनामा पनि फिर्ता नहुने पक्षमा छन् ।
२२ असोज २०७८ मा मन्त्री भएकाहरू रेनुकुमारी यादव, महेन्द्रराय यादवलगायत मन्त्री भएका थिए । पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले मन्त्री भएकाहरूलाई छिटो फिर्ता गर्न दबाब दिइरहेका छन् । तर, अध्यक्ष यादवले भने भट्टराईको मागलाई वास्ता गरेका छैनन् । भट्टराई पार्टीको तर्फबाट नयाँ मन्त्रीहरू पठाउनुपर्ने पक्षमा छन् । यादवको चाहना भने वर्तमान मन्त्रीहरूलाई नै निरन्तरता दिनेमा छन् । सोही कारण जसपामा विवाद भएको हो ।
एता प्रधानमन्त्री देउवाले यि दुई दलमा विवाद र विभाजन भए लोसपालाई सरकारमा ल्याएर सरकार बचाउने तयारी गरेका छन् । त्यसो भएको खण्डमा यि दुईदललाई सरकार बाहिरै राखेर लोसपालाई सरकारमा ल्याएर निर्वाचन गराउने दाउ देउवाको छ ।