जनकपुरधाम, जेठ २:
स्थानीय तह निर्वाचनपछि अहिले ठाउँ ठाउँमा मतगाणना जारी छ । कतिपय स्थानीय तहको मत परिणाम पनि सार्वजनिक भई सकेको छ । यद्यपि सबैको ध्यान जनकपुरधाम उपमहानगरपालिकामा केन्द्रित छ ।
मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधामको ध्यान केन्द्रित रहेपनि मत परिणाम भने एकदमै ढिलो आई रहेको छ । यसका साथै मतगणनामा धाँधली हुँदै आईरहेको आरोप समेत लागि रहेको छ ।
जनकपुरधाम उपमहानगरको स्वतन्त्रबाट उपप्रमुखमा उम्मेदवारी दिएका उमेश चौधरीले यही गतिमा मतगणना गरियो भने २० दिनमा पनि गणना नसकिने गुनासो गरे । उनले एक दिनमा पनि एउटा पनि वडाको गणना नहुनुले शंका उपशंका समेत उत्पन्न भईरहेको उनले बताए ।
यसका साथै चौधरी सामाजिक संजालमै मतगणना शंकास्पद रहेको आरोप लगाएका छन् । जनकपुरधाम उपमहानगर वडा नम्बर ४मा उनलाई शुरुमा शुन्य मत देखाईएको थियो । जबकि उनी आफै वडा ४का वासी हुन् । पछि चौधरीले आपत्ति जनाएपछि वडा ४बाट उनलाई ७४ मत परेको जनाइएको थियो ।
यता नेकपा एमालेले जनकपुरधाममा चलिरहेको मतगणमा धाँधली भईरहेको आरोप लगाएको छ । मतगणना स्थलमा धाँधली भईरहेको र आफ्ना उम्मेदवारलाई जिताउन मतपेटिका परिवर्तन गर्न सक्ने सम्भावना समेत रहेकाले सबैलाई सचेत रह्न एमाले श्रोतले आग्रह गरेको छ ।