जनकपुरधाम, जेठ २ :
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित गरिएको छ । धनौजी गाउँपालिका र नगराइन नगरपालिकामा खसेको मतभन्दा बढी मतपत्र बाहिरिएपछि दूबै पालिकामा मतगणना स्थगित गरिएको हो ।
धनौजी गाउँपालिकमा वैशाख ३० गते मतदानको दिन मतखसेपछि मतदान अधिकृतले फिल्डबाट पठाएको रिपोर्टभन्दा १५ मत बढी फेला परेपछि विवाद उत्पन्न भएको हो ।
धनौजी स्थित मतगणना स्थल बाहिर विवादले उग्ररुप लिएपछि प्रहरीले भने अवस्थालाई नियन्त्रणमा लिनका लागि हवाई फायर समेत गरेको छ ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि २५ राउन्ड हवाई फायर र एक राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । धनौजीको मतगणना स्थललाई सामान्य बनाउनका लागि अहिले त्यहाँ नेपाली सेना परिचालन गरिएको छ ।
निर्वाचन अधिकृत पोषराज खनालका अनुसार मतपेटिकामा भनिएको भन्दा १५ वटा मत बढी फेला परेको भन्दै उम्मेदवार तथा प्रतिनिधिहरुले हो हल्ला गरेको थियो ।
उनले भने, ‘मतपेटिकामा मतखसेको भन्दा बढी बढी मत फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मतपेटिकामा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई वेवास्ता गरेपछि विवाद हुँदा मतगणना स्थगित छ ।’
धनौजी २ मा १ हजार ६९४ मत हुनुपर्नेमा त्यसभन्दा बढी मत मतपेटिकामा फेला परेको हो ।
ताजा रुझान अनुसार सो पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार साह १५१४ मत सहित पहिलो स्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्वन्दी लोसपाका जिवेन्द्र झा १ हजार मत सहित दोस्रो स्थानमा रहेका छन् ।
सो पालिकामा लोसपा, एमाले सहितका दलहरु आन्दोलित भएको छ । स्थानीयका अनुसार मतगणना स्थलबाहिर समेत मतपत्र फालिएको अवस्थामा फेला परेको छ ।
यता नगराइन नगरपालिकामा लोसपा, एमाले लगायतका दलले पुनः मतगाणनाको माग गरेपछि मतगणना स्थगित भएको छ । मतपेटिकामा रहेको अन्य दलको हकमा आएको सदर मतलाई पनि बदर गरिएको, कांग्रेसको बदर मतलाई समेत सदर गरिएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरिएको छ ।
लोसपाको नगरप्रमुखका उम्मेदवार राजेश चौधरी सहित ११ जना प्रतिनिधिले मतगाणना स्थगित गर्नुपर्ने माग गरेपछि मतगाणना स्थगित गरिएको निर्वाचन अधिकृत सुदिपकुमार दंगालले जानकारी दिए ।