एसपी रिपोर्टर
जनकपुरधाम, असोज २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले एमसिसीको कारण वर्तमान सत्ता गठबन्धन टुटने फुटने कुरामा कुनै सत्यता नरहेको बताएका छन् । शनिबार जनकपुरधाममा नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रशिक्षण कार्यक्रम समापनपछि पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफुहरुका लागि एमसीसी भन्दा महत्वपूर्ण पाँच दलीय गठबन्धन नै रहेको बताएका छन् ।
संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रका लागि यो गठबन्धन बनेकाले अहिलेको अवस्थामा गठबन्धन भन्दा माथी कोहि पनि हुन नसक्ने बताएका छन् । प्रचण्डले आफूहरु एमसीसीविरुद्ध नरहेको पनि बताए । एमसीसी परिमार्जन सहित सर्वदलीय संयन्त्रबाट पास गर्नुपर्नेमा उनले जोड दिएका छन् । अर्को प्रसंगमा उनले जनता समाजवादी पार्टी र नकपा एकीकृत समाजवादी पार्टीका कारणले मन्त्री परिषद विस्तार नअड्किएको बताउँदै असोज ४÷५ गतेभित्र सरकारले पूर्णता पाउने दाबी पनि गरेका छन् ।
अध्यक्ष प्रचण्डले मधेसी, आदिवासी तथा जनजाति एवं थारुको मागको सम्बोधनका लागि संविधान संशोधन हुनुपर्ने पक्षमा आफू सुरुदेखि नै रहेको र अहिले पनि संशोधनको पक्षमा अडिग रहेको बताए । पार्टीको प्रदेश २ प्रशिक्षण कार्यक्रम समापनपछि प्रचण्ड आजै काठमाण्डौं फर्केका छन् ।