एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १७ : जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गते पछि मात्र मन्त्री परिषद विस्तार गर्ने सहमती गठबन्धनमा भएको खुलासा गरेका छन् । जनकपुरधाम आइपुगेका अध्यक्ष यादवले विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै गठबन्धनमा कुनै विवाद नभएको तर २२ गते पछि मात्र मन्त्रीपरिषद विस्तार गर्नुपर्ने जसपाको प्रस्तावमा गठबन्धन आवद्व सवै दल सहमत भएको बताएका छन् ।
(भिडियो)
मन्त्रालयलाई लिएर माधव नेपालसंग बिबाद भएको सन्दर्भमा पत्रकारहरुले सोधेको प्रश्नमा पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले मन्त्रालय भागबण्डामा कुनै बिबाद नरहेको बताए । प्रदेश २ मा २२ गते सम्म सांसदहरुले पार्टी रोज्न पाउने भएको र पार्टी फुटन सक्ने डरले त्यसपछि मन्त्री परिषद विस्तार गर्ने सोच्नु भएको हो ? भन्ने प्रश्नमा उनले तत्काल फुरसतको कमी रहेकाले २२ गते नै गरौं भन्नेमा सवै सहमत भएको खुलाए ।
उनले लोसपाका महन्थ ठाकुर सहितका नेताहरुलाई बिचारा भन्दै उनीहरुसंग जसपाको तुलना नगर्न आग्रह गरेका छन् । प्रदेश २ मा २२ गते सम्म जसपाका स्थानिय र प्रदेशका जनप्रतिनिधीहरुले दल राज्न पाउने र निर्वाचन कार्यालयमा सनाखत गर्न पाउने समय सिमा तोकिएको छ । यादवको स्वागतका लागि विमानस्थलमा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, जनप्रतिनिधीहरु सहित पार्टीको नेता कार्यक्रताहरुको बाक्लो उपस्थिती थियो ।