एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १६ : नवगठित लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले आफनो पार्टीलाई कमजोर आंकलन गर्नेहरु गलत रहेको बताएका छन् । बुधबार वरिष्ठ नेताद्वय राजेन्द्र महतो र सरतसिंह भण्डारी सहित जनकपुरधाम विमानस्थल आइपुगेका अध्यक्ष ठाकुरले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लोसपा मधेशी जनताको मनभित्रको पार्टी रहेको बताए ।
संगै रहेका वरिष्ठ नेता राजेन्द्र महतो र सरदसिंह भण्डारीले लोसपाको शक्ति निर्वाचनबाट पता लागने भएकाले अहिलेको मुल्यांकन हतारमा हुने बताए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी भन्दा आफ्नो पार्टी मजबुत रहेको उनीहरुले दावी गरेका छन् । ठाकुरले हाम्रो बारेमा कसैले बिश्लेषण गरेर हुँदैन आफुहरु जसपा भन्दा स्ट्रोङ्ग रहेको बताए ।
तत्कालिन राजपा नेपालबाट निर्वाचित अधिकांश जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु जसपामै रहेको समयमा लोसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी र राजेन्द्र महतोको जनकपुरधाम आगमनलाई महत्वका साथ हेरिएको छ । जसपा विभाजन पश्चात नयाँ दल रोज्नका लागि जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु जिल्ला निर्वाचन कार्यालयमा गई सनाखत गरिरहेको अवस्थामा लोसपाका केन्द्रिय नेताहरू जनकपुरधाम आएका हुन् ।