एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ११ : महोतरीमा रातु नदीको बाँध भत्किएपछि महोत्तरीमा सयौँ घर डुबानमा परेको छ । बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा बाँध भत्किँदा गाउँनै डुबानमा परेकोे छ । बाढीले एउटै वडाका विभिन्न ठाउँमा ४ सय मिटर जति तटबन्ध भत्काएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।
बाढी बस्तीमा पुग्दा झण्डै ९ सय घर डुबानमा परेको छ । घर आँगन डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम सुरु भएको उनले बताए । जनप्रतिनिधि सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर स्थानीयको उद्धारमा जुटेको उनले बताए । दुई दिनदेखि अविरल बर्षाका कारण रातु खोलामा पानीको बहाब भढदा बाँध भत्केको हो ।
सिरहा
भारी वर्षाका कारण सिरहाको कर्जन्हा नगरपालिका –४ बस्तीपुरको दर्जनौ घर डुबानमा परेको छ । बिहिबार राति देखि भैरहेको भारी वर्षाको कारण दर्जनौ घरहरु डुबानमा परेको हो । घर डुबानमा परेपछि अहिले स्थानीयहरू सास्ती भोगिरहेको छ, कतिपयको घरमा चुलो पनि बलेको छैन, बच्चाहरु भाकै बस्नु परेको अवस्था रहेको एक स्थानीय बताउछन । स्थानीयका अनुसार गाउमा बनेको रोडको नाला माथि भएर पानिको निकास हुन् नसकेकोले घरहरु डुबानमा परेको छ ।
नवलपरासी
अविरल वर्षाका कारण पश्चिम नवलपारासीका विभिन्न क्षेत्र डुबानमा परेको छ । झरई खोलाको बाढी बस्तीमा पसेपछि परासी बजार क्षेत्र डुबानमा परेको हो । पानीको सतह बढी भएकाले उद्धारमा खटिन पनि कठिनाई भैरहेको प्रहरीले बताएको छ ।
सुनवल नगरपालिकाको पनि विभिन्न क्षेत्र डुबानमा परेको छ । वडा नम्बर १० भुडिया टोल डुबानमा परेको छ । बाढीले अन्नपात, लत्ताकपडा र बस्तुभाउ बगाएको स्थानीयले बताएका छन् । रातको समयमा बाढी पसेकाले मानिसहरु कोही घरको छत तथा अग्लो ठाउँमा गएर ज्यान जोगाएका थिए ।
डुबानमा परेका २१ जनालाई राति नै सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको टोलीले उद्धार गरेको स्थानीय रुपा काफ्लेले जानकारी दिइन् । बाढी प्रभावितलाई खकरीबारीमा रहेको देवकोटा माध्यमिक विद्यालयको भवनमा राखिएको छ
सुनवल–३ मा पनि डुबान भएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने सुनवलस्थित तुरियाखोलाको पुल जोखिममा परेको छ । पुलबाट सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । पूर्व–पश्चिम राजमार्गमा बनाइएका डाइभर्सनहरुमा बाढी बगेका कारण यातायतका साधन सञ्चालन हुन नसकेको प्रहरीले बताएको छ ।
बर्दघाट नगरपालिकाको विभिन्न ठाउँहरु पनि डुबानमा परेका छन् । वडा नम्बर ४ को स्मृतिनगरमा रहेको मुसहर बस्ती डुबानमा परेको छ । धौलागिरी टोलका केही बस्ती डुबानमा परेका छन् । वडा नम्बर ६ मा पनि डुवान भएको छ । वडा नम्बर ११ को विजयपुर, भगजोगनी, गैडाहा, मौराटारी क्षेत्रका बस्ती डुवानमा परेको वडा नम्बर ११ का वडा अध्यक्ष तीर्थराज फौजदारले जानकारी दिए । बर्दघाट नगरपालिकाको वडा नम्बर ५, वडा नम्बर १२ लगायत अन्य क्षेत्रमा पनि डुबान भएको छ ।
सरावल गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र पाल्हीनन्दन गाउँपालिकाको वडा नम्बर १ डुबानमा परेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार झरही खोलाको बाढीका कारण परासी हाटबजार, मुख्य बजार लगायतका क्षेत्र पनि डुबानमा परेको छ। जिल्ला प्रशासन कार्यालय परिसर पनि डुबानमा परेको उनले बताए ।
डुबानका कारण जोखिममा परेकाहरुको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरु परिचालन गरिएको मिश्रले बताए ।
नारायणी नदीमा पनि पानीको बहाव बढिरहेको छ। शुक्रबार बिहान ६ बजेको मापन अनुसार ४ लाख ४ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए । वर्षा नरोकिएकाले सबैलाई सचेत रहन र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा जानका लागि प्रजिअ मिश्रले आग्रह गरेका छन् ।