एसपी रिपोर्टर
सप्तरी, असार १२ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । प्रदेश २ स्थित शनिबार सप्तरीका स्थानीय पत्रकारसँग कुरा गर्दै उनले सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने ठोकुवा गरेका हुन् ।
‘संसदको पनि पुर्नस्थापना हुन्छ । लोकतन्त्रको पनि रक्षा हुन्छ । हामी यसमा ढुक्क छौं’ उनले भने जसपा पनि फुट्दैन । अध्यक्ष यादवले सरकारले कुनै पनि माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको टिप्पणी गरे ।

‘कसैको मुद्दा फिर्ता भएको छैन, कुनै माग पूरा भएको छैन’ अध्यक्ष यादवले भने, ‘केपी ओलीले त मधेशको माग सुन्नै चाहेका छैनन् । माग कसरी पूरा गर्छन् ?’ मधेशको माग जनसंख्याको आधारमा समावेशी समानुपातिक प्रतिनिधित्व, भाषाको अधिकार, ७ प्रदेशको सट्टा गरी १० जोड १ प्रदेशको अवधारणा ल्याउने भएपनि कुनै माग पूरा नभएको बताए ।
नागरिकताको विषयमा प्रधानमन्त्री ओलीले ठूलो खेल खलेको यादवले आरोप लगाए । संसदमा टेबुल भइसकेको नागरिकता विधेयकलाई संसदभित्रै पारित नगराई अध्यादेश बाट ल्याइएको भन्दै उनले भने, ‘एकातिर अध्यादेश जारी गरे, अर्काेतर्फ आफ्नै मान्छे लगाएर खारेज गर्न लगाए ।’
जसपाभित्रको पूर्व राजपाका नेताहरु प्रतिगमनकारीलाई सघाएको अध्यक्ष यादवले बताए । ओलीको सरकारमा सहभागी भएकाहरु पार्टीमा पुनः आउन सक्ने उनले बताए । ‘राजनीतिमा केही पनि असम्भव छैन । उहाँहरु बाटो परिवर्तन गरेर अग्रमगमनको बाटोमा आई आत्मोलचना गरे पार्टीमा रहन सक्नुहुन्छ’ उनले भने । कार्यक्रममा जसपा नेतृ रेणु यादव, प्रदेश २ का मन्त्रीहरु नवल किशोर साह र शैलेन्द्र प्रसाद साह सहितको सभागिता रहेको थियो ।