एसपी रिपोर्टर
काठमाण्डौं, असार १० : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आसन्न १४ औं महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवारका रूपमा प्रस्तुत गरेपछि सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् । मंगलवार बिहान आफ्नो निवास बुढानीलकण्ठमा आफूनिकट केही नेताहरूसँग भेट गर्दै निधिलाई भारतले सभापति बनाउन लागेको आशंका व्यक्त गरेका हुन् ।
देउवालाई भेट्न गएका एक नेताले भने – ’सभापति देउवा आफैं सभापतिमा उठ्ने तयारीमा हुनुहुन्छ । विमलेन्द्रजीले उम्मेदवार बन्ने कुरा गरेको उहाँलाई मन परेको छैन ।’ ती नेताले भारतले देउवालाई कांग्रेसको नेतृत्वमा देख्न नरुचाएकोसमेत टिप्पणी गरे ।
’अहिले भारतको संस्थापन पक्षले सभापति देउवालाई फिटिक्कै रुचाएको छैन,’ उनले भने, ’त्यसैले निधि मार्फत कांग्रेस कब्जा गर्ने योजनामा भारत देखिन्छ ।’ सभापतिमा आफैं दोहोरिने मनासयका साथ कुरा शुरू गरेका देउवाले नेताहरूसँग भनेका थिए – ’निधिले पनि कता कता सभापतिमा दाबी गर्दै हिंडेको सुनेको छु, अरे बाबा ! भारतले बनाइदिएको सभापतिले कांग्रेस चल्छ ?’
सभापतिको उम्मेदवारीमा दाबी गरेपछि निधिले सोमवार युवानेताहरूसँग छलफल गरेका थिए । छलफलमा देउवाइतर पक्षका ९ जना युवा नेताहरू सामेल थिए ।
निधिले आफ्नो समूहबाट मात्र देउवाले महाधिवेशन नजित्ने निष्कर्ष सुनाए । ’देउवाजीले आफ्नै टीमको मात्रै भोटले जित्नुहुन्न,’ निधिको भनाइ उदृत गर्दै छलफलमा सहभागी एक युवानेताले भने, ’अरुले पनि आफ्नो टीमको भोट मात्रै पाएर जित्ने स्थिति छैन । सभापति हुने मान्छेले सबैतिरबाट भोट लिन सक्नुपर्छ । म तपाईंहरुसँग सहयोगको अपेक्षा राख्छु ।’
छलफलमा सहभागी रहेका युवानेता गुरुराज घिमिरे भन्छन् – ’उहाँ(निधि)ले हामीसँग सहयोगको अपेक्षा राख्नुभएको थियो । तपाईं सभापति भएपनि त्यसपछिका पदहरूमा हाम्रो दाबी छँदैछ । एउटा अन्डरस्ट्याण्डिङ बनाएर आउनुस्, हामी सहयोग गर्छौं भनेर भन्यौं ।’
घिमिरेले थपे – ’यतिबेला सामान्य नेतृत्व परिवर्तन गरेर मात्र हुँदैन । देशलाई नै नेतृत्व गर्ने हिसाबले कांग्रेस अघि बढ्नुपर्छ । हामीले निधिजीसँग १५ औं महाधिवेशनमा युवाले नै नेतृत्व गर्ने तर आसन्न १४ औं महाधिवेशमा दोस्रो पुस्ताको नेतालाई सहयोग गर्न तयार रहेको कुरा सुनायौं ।’
निधिसँग छलफल गर्न चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, दीपक गिरी, प्रदीप पौडेल, जीवन परिवार, सरिता प्रसाईं, गुरुराज घिमिरे र बद्री पाण्डे सोमवार निधिनिवास पुगेका थिए ।
तर देउवाको सहयोगबिना भदौ १६ देखि १९ गतेसम्म तय भएको चौधौं महाधिवेशनमा निधिले सभापति जित्ने सम्भावना छैन । देउवाले नै आफूलाई सभापतिको उम्मेदवार दाबी गरे भने कांग्रेसको देउवा समूह कमजोर हुन्छ । देउवा र निधि मात्र होइन, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला, प्रकाशमान सिंह सबैले आफूलाई सभापतिको उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन् ।
पछिल्लो राजनीतिक परिघटनामा भारतको हस्तक्षेप रहेको विभिन्न घटनाक्रमहरूले पुष्टि गर्दै आइरहेका छन् । भारतकै चाहनामा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन गरेको अड्कलहरू राजनीतिक वृत्तमा चलिरहेका छन् । एमाले पनि विभाजनउन्मुख देखिएको छ ।
’अब भारतको आँखा कांग्रेसमा जानु स्वाभाविक हो,’ एक प्रभावशाली राजनीतिक विश्लेषकले भने, ’नेकपा र एमाले दुवै दलको विभाजन भएपछि भारतले कांग्रेसलाई पनि विभाजित गराउने तेस्रो मिसनमा काम गरिरहेको छ ।’ उनले भारतको ’एस म्यान’लाई मात्र कांग्रेसको सभापति बनाउने चलखेल भइरहेको खुलासासमेत गरे ।
’म निधि या अन्य कुनै नेताको बारेमा टिप्पणी गर्न चाहन्न तर कांग्रेसको महाधिवेशनमा भारतले राम्रोसँग खेल्छ भन्ने कुरामा प्रष्ट भए हुन्छ,’ उनले भने । कम्युनिस्टहरू विभाजित भएको अवस्थामा निर्वाचन भयो भने कांग्रेस पहिलो पार्टी बन्न सक्छ । तर भारतको चलखेललाई लिएर देउवा सशंकित बनेका छन् ।
देउवाको बुझाइ छ – भारतले अहिले ओलीलाई साथ दिइरहेको छ । ओलीमार्फत कम्युनिस्टलाई विभाजित गर्ने भारतले कांग्रेस पनि विभाजित गर्न सक्छ । निधि उम्मेदवार बन्ने घोषणालाई देउवाले त्यही चलखेलको एउटा पाटो मानेका छन् ।
’भारत नेपालमा कम्युनिस्टको नाममा ओली, कांग्रेसको नाममा निधि या शशांक कोइराला र मधेशवादीको नाममा महन्थ ठाकुरलाई शक्तिमा राखिरहन चाहन्छ,’ माथि उल्लेखित राजनीतिक विश्लेषकले भने । यसलाई कांग्रेसका अर्का युवा नेता रामहरी खतिवडाले पनि स्वाभाविक भएको टिप्पणी गरेका छन् ।
खतिवडाले सूत्रन्यूजलाई भने – ’नेपालमा हुने हरेक घटनाक्रममा भारतको चलखेल देखिएकै हो । कांग्रेसको महाधिवेशनलाई पनि भारतले नजिकबाट हेरिरहेको छ । प्रभावित पार्ने खेल हुँदैन भन्न सकिन्न । कुन पात्रमार्फत भारतले चलखेल गर्छ, त्यो हाम्रो कन्सर्नको विषय पनि हो ।’
साभार : सुत्र न्युज डटकम