एसपी रिपोर्टर
काठमाण्डौं, असार ७ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनको कार्यतालिका पास गरेसँगै सभापति शेरबहादुर देउवा मैदानमा उत्रिएका छन् । तर उनलाई लामो समयदेखि उनकै टिममा रहेको उपसभापति विमलेन्द्र निधिले चुनौती दिएका छन् ।निधिले प्रष्ट भनेका छन्, ‘१४औं महाधिवेशनमा सभापतिमा लड्छु ।’ निधिका अनुसार आजका मितिसम्म सभापतिका लागि सात जना उम्मेदवार देखिएका छन् । १३औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला अनि त्यसबेला प्रतिस्पर्धा नगरेका उनीसहित प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. शशांक कोइराला । र, उपसभापति निधिका भनाइमा, उनी पछि हट्ने एउटै सम्भावना छ, ‘सर्वसम्मत नेतृत्व चयन ।’
उनका अनुसार सहमतिका तीन विकल्प छन् । पहिलो सात जनाबीच छलफल गर्ने र जसको नाममा सहमति जुट्छ, त्यसलाई स्वीकार गर्ने । उनी भन्छन्, ‘एउटाको नाममा सर्वसम्मत हुन्छ भने म स्वीकार गर्न तयार छु । सहमतिका लागि बाधक बन्दिनँ ।’ दोस्रो, १३ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका तीन नेता बसेर हामी पार्टीको कार्यकारिणी पद ग्रहण गर्दैनौं । अब तपाईंहरु चार जनामा यसरी पदीय भाबगण्डा गर्नुस् भनेर तोकिदिने ।
तेस्रो, १३ औंमा सभापति नउठेका, तर अहिले सभापतिमा आकांक्षा राखेका चार नेता बसेर सहमति खोज्ने । निधि भन्छन्, ‘म युवा साथीहरुसँग पनि छलफलमै छु । मेरा समकालीन साथीहरुसँग पनि छलफलमा छु । हामीहरुबीच पनि सहमति भएन भने चुनावका लागि तयार छु ।’ त्यो बेला पनि आफ्नो प्राथमिकता शेरबहादुरजीको समर्थन पाउने हुने उनले बताए । प्रस्तुत छ, कांग्रेस उपसभापति निधिसँग गरिएको कुराकानीको सम्पादित अंश :
महाधिवेशन हुन्छ हुँदैन भन्ने आशंकाका बीचमा एकाएक भदौ अन्तिमतिर भए पनि महाधिवेशन गर्ने गरी कार्यतालिका तोकिएको छ । अब कांग्रेसलाई साँच्चिकै महाधिवेशन लागेको हो ?
अब महाधिवेशन हुन्छ । संवैधानिक बाध्यता पनि छ । यो राजनीतिक कर्तव्य पनि हो ।
महाधिवेशनमा तपाईँ सभापतिको उम्मेदवार हो ?
हो, म सभापतिको उम्मेदवार हुँ । मैले पार्टी सभापति शेरबहादुर देउवालाई एक/डेढ वर्षअघि नै भनिसकेको थिएँ । मैले सोचेको थिएँ, उहाँले मेरै लागि पहल गर्नुहोला । तर, उहाँले आफ्नै लागि लबिङ सुरु गर्नु भएको छ । शनिबार प्रदेश दुईका केन्द्रीय सदस्यसहितको छलफलमा मैले उहाँलाई भने, म यसपटक लड्छु, मलाई तपाईंको समर्थन, आशिर्वाद चाहिन्छ ।’ उहाँले भन्नुभयो, ‘तपाईंको अधिकार छ लड्नुस्, म पनि लड्छु ।’
मैले जवाफमा भनेको छु,– लड्ने अधिकार छ भन्नुभयो, त्यो अधिकार त छँदैछ, तर तपाईंसँग मेरो लामो सम्बन्ध छ । नेविसंघदेखि आजका दिनसम्मको सम्बन्धका आधारमा म सभापतिमा लड्दा तपाईंको समर्थन प्राप्त गर्ने पनि मेरो अधिकार हो ।
यो बीचमा तपाईंले उहाँलाई ‘कन्भिन्स’ गर्न सक्नुभएन ?
मैले त गतवर्ष साउन २९ गते उहाँको घरमा गएर आफ्नो कुरा उहाँलाई भनिसकेको थिएँ । सामान्यतया त्यसपछि उहाँले छलफल गर्नुपर्ने थियो । तर यो विषयमा त्यसपछि पार्टीका अरु धेरै विषयमा छलफल भयो, तर सभापति लड्ने विषयमा संवाद भएन ।
१३औं महाधिवेशनमा देउवा सभापति लड्दै गर्दा १४औं महाधिवेशनलाई लिएर तपाईंसँग कुनै छलफल वा भद्र समझदारी त्यस्तो केही भएको थियो ?
उहाँ र मेरोबीचको सम्बन्ध यस्तो थियो कि हामी दुईबीच भएका छलफललाई मैले विश्वासको तहमा हेरेको थिएँ । पार्टी, राष्ट्रिय अन्तर्राष्ट्रिय, संविधान निर्माणका विषयमा हामीहरुबीच धेरै कुराकानी भएका छन् । गिरिजाबाबुको कार्यशैलीविरुद्ध पार्टी नै फुुट्यो । शेरबहादुरजी प्रधानमन्त्रीको कुर्सीमा हुँदाहुँदै गिरिजाबाबुले पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरिदिनुभयो । शेरबहादुरजी लिखित माफी माग्न तयार हुनुहुन्थ्यो, त्यसको पनि सुनुवाइ भएन । त्यसपछि पार्टी फुटाउनुपर्ने बाध्यता भयो ।
त्यो परिस्थितिमा उहाँलाई साथ दिनेमध्ये म पनि हुँ । मैले प्रक्रियागत र कार्यगत रुपमा निरन्तर उहाँलाई साथ दिँदै आएको छु । पछिल्ला समय धेरै साथीहरुले उहाँलाई छोडेर जानुभयो । तर मैले कहिल्यै साथ छाडिनँ । यो बीचमा अनगिन्ती संवाद भएका छन् । बिहान, दिउँसो, बेलुका, सन्ध्याकालीन सिटिङ भएका छन्, र धेरै कुराकानी भएका छन् । मलाई अझै पनि उहाँसँग विश्वास छ । मैले त्यसमा कुनै प्रश्न उठाएको छैन ।
१३औं महाधिवेशनमा पनि देउवाजीलाई जिताउन शेखर कोइराला, सशांक कोइराला, सुजाता कोइराला लगायत धेरैलाई महामन्त्रीमा उम्मेदवार बनाउनेबारे छलफल भएको थियो । त्यसका लागि मैले त्याग गरेँ । देउवाजी आफैँ पनि टीम बनाउन माहिर हुनुहुन्छ । अर्जुननरसिंह केसीलाई महामन्त्रीमा उठायौं । त्यसअघि पनि सुशील कोइराला, गिरिजाबाबुसँग नजिक भएकाहरुलाई हाम्रो टीममा ल्याउन सफल भयौं र देउवाजीले जित्नुभयो ।
मैले त्यतिबेला १३ औं महाधिवेशन तपाईंका लागि हो, १४ औं महाधिवेशनमा म उठ्छु भनेको थिएँ । उहाँले हुन्छ भन्नुभएको थियो । हुन्न भन्ने उहाँको बानी नै छैन । यसमा उहाँको पाटो उहाँले भन्नुहोला, तर मैले अचानक आएर अब मै लड्छु भनेर भनेको होइन । यो लामो समयदेखिको तयारीको परिणाम हो ।
१३औं महाधिवेशनमा तपाईंले देउवालाई सभापति बनाउन त्याग गर्नुभयो । अब सभापतिज्यूले सभापतिको आकांक्षा त्यागेर मलाई समर्थन गर्नुपर्छ भन्ने तपाईंको भनाइ हो ?
उहाँको चाहना के थियो भनेर त उहाँलाई नै सोध्नुपर्ला । किनकी उहाँ र मबीच भएका छलफलको साक्षी कोही छैन । तथापि मैले बुझे अनुसार ‘संवैधानिक राजतन्त्र हुँदा प्रधानमन्त्री पनि बने, फुटेको कांग्रेस प्रजातान्त्रिकको पनि सभापति पनि बने । गिरिजाबाबुसँग मिलेर मैले पार्टी पनि बनाए । तर एकीकृत कांग्रेसको सभापति बन्न पाएको छैन । अब सभापति बन्छु’ भन्ने उहाँको इच्छा थियो । हामी सबैले सहयोग ग¥यौं र १३ औं महाधिवेशनमा रामचन्द्र पौडेलसँग भएको प्रतिस्पर्धा जित्नुभयो ।
उहाँ गणतान्त्रिक प्रणालीमा प्रधानमन्त्री पनि भइसक्नुभयो । पार्टी सभापति पनि भइसक्नुभयो । यो १३ औं महाधिवेशन अघिको विषय होइन, धेरै अघिदेखिको विषय हो । उहाँ र मेरो बीचमा कुराकानी हुँदा उहाँले सधैं म पछि तपाईं नै हो भन्नुहुन्थ्यो ।
तर आज त उहाँले आफ्नो तयारी अगाडि बढाइसक्नुभयो । तपाईंलाई नै बोलाएर उहाँले सहयोग माग्नुभयो । यो भनेको त तपाईंको प्रस्ताव अस्वीकार्य भएको भन्ने होइन र ?
म यसलाई दुई हिसावले हेर्दछु । उहाँ आफैंले तपाईंहरुसँग भन्नुभएको छ, राजनीति सहज हुँदै हुँदैन । जिम्मेवारी र पद मागेर होइन, लडेर प्राप्त हुन्छ । मैले गिरिजाबाबु, सुशील कोइरालासँग लडेर यो पद पाएको हुँ । यो त उहाँले देखाएको बाटो हो । म त झन् उहाँसँगै छु । उहाँलाई सहयोग गर्दै आएकाले उहाँले पनि मलाई सहयोग गर्नुपर्छ भन्ने मेरो विश्वास हो । अझै पनि मेरो चाहना छ, उहाँको सहयोग हुन्छ भनेर ।
उहाँले सहयोग गर्नु भएन भने ?
म सभापतिमा लड्ने कुरा तय गरिसकें, यसमा ढुक्क हुनुस् । समय छ, उहाँले मलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।
तपाईं लामो समय शेरबहादुरसँग रहनुभयो । देउवाले यो पटक मलाई सहयोग गर्नुपर्यो भनेपछि निधिले क्रस गर्न आँट्लान र ? भनेर कतिपयले संशय व्यक्त गरिरहेका छन् नि ?
कृपा गरी सबैलाई आग्रह गर्दछु, मेरो आँटको कसैले परीक्षण नगरे हुन्छ । आँट भनेको त संस्कार हो र हाम्रो परिवार निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध लडेर आएको परिवार हो ।
मलाई के लाग्छ भने शेरबहादुरजी पार्टी सभापति पनि भइसक्नुभयो । प्रधानमन्त्री पनि भइसक्नुभयो । उहाँले पार्टी र देशलाई दिन सक्ने जे थियो, दिइसक्नुभयो । उहाँको योगदानलाई प्रेरणादायी रुपमै लिनुपर्दछ, प्रशंसा गर्नुपर्दछ । तर आजका दिनमा पार्टी, मतदाता र देशका लागि नयाँ जेनेरेशनले बढी दिनसक्छ, यो बढी प्रभावकारी हुनसक्छ ।
म अहिले ६६ वर्षको भएँ । १५ औं महाधिवेशन हुँदा ७० वर्ष कटिसकेको हुन्छु । तपाईंले ‘ट्रयाक रेकर्ड’ हेर्नुभयो भने नेपाली कांग्रेसको प्रतिस्पर्धा त कम्युनिष्टहरुसँग हुन्छ । दुई पार्टीको नेतृत्व दाँज्नुभयो भने कांग्रेसमा हजुरबुबा मात्र होइन, जिजुबुबादेखि नातिपुस्तासम्म सँगसँगै छ । अरु पार्टीमा त्यस्तो छैन । यहाँ पुस्ताको जाम लागेको छ, त्यसैले समाज, पार्टी र देशलाई जुन गति दिनुपर्ने हो त्यसमा असर गरेको छ । त्यसलाई निकास दिन र पार्टीमा नयाँ पुस्ताका लागि मार्ग प्रशस्त गर्न हाम्रो पुस्ताले सोच्नुपर्दछ । त्यसकारण मैले यो महाधिवेशनमा सभापति लड्छु भनेको हुँ ।
१५ औं महाधिवेशन हाम्रा लागि होइन, नयाँ पुस्ताका लागि भन्ने हो ?
१५ औं महाधिवेशन म भन्दा पछिको पुस्ताका लागि हो ।
त्यसो हो भने सभापतिको समर्थन गरे तपाईं, नगरे दुवै सभापतिको उम्मेदवार हुने ‘कन्र्फम’ भयो होइन ?
मलाई अझै विश्वास छ, उहाँले मलाई समर्थन गर्नुहुन्छ ।
समर्थन गर्नु भएन भने ?
कांग्रेसभित्र जब आन्तरिक नेतृत्वको चयनका लागि निर्वाचन प्रक्रियाको सुरुवात भयो, आफ्नै क्याम्पको भोटले मात्र कसैले जितेको छैन । गिरिजाबाबुले जित्दा पनि किसुनजी पक्षको समर्थन नपाएर जित्नुभएको छैन । सुशील कोइरालाले जित्दा पनि शेरबहादुर पक्षको समर्थन नलिई जित्नुभएको छैन । १३औं महाधिवेशनमा शेरबहादुरजीले जित्दा पनि अर्काे समूहका साथीहरुको समर्थन नलिई जित्नुभएको छैन । त्यसकारण म पनि सभापतिमा उठ्छु भने शेरबहादुरजीको समर्थन भयो भने पनि प्रचलित भाषामा देउवा समूहको सहयोगले मात्रै विमलेन्द्र निधि चुनाव जित्न सक्दैन ।
त्यसकारण निर्वाचन प्रणालीको सबभन्दा नकारात्मक पक्ष गुट हो । सबैले चुनावमा आ–आफ्नो गुट बनाउँछन् । तर निर्वाचन प्रणालीले गुट भत्काउँछ पनि । हरेक उम्मेदवारले अर्काे समूहको भोट लिने कोसिस गरिरहेको हुन्छ । म पनि यो कोशिसमा छु । म भन्दा पहिला जितेका सभापति र उम्मेदवार भएकाहरुले पनि यही गरेका हुन् ।
१३ औं महाधिवेशनमा देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रतिस्पर्धामा हुनुहुन्थ्यो । देउवाजीले चुनाव जित्नुभयो, तर तीनै जना आफ्नो टीममात्रै बोकेर प्रतिस्पर्धामा जानुभएको होइन । यताको उता, उताको यता भएकै छ, उम्मेदवारमा अनि भोटमा । यो भइरहन्छ र रहिरहन्छ । राजनीतिको त्यो गतिशीलतालाई ध्यान दिनैपर्छ ।
अनलाईन खवरबाट