एसपी रिपोर्टर
काठमाण्डौं, जेठ २२ : आफ्ना पक्षका नेताहरु महन्थ पक्षमा लागेपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ सरकार हेरफेरको तयारी थालेका छन् । सो सम्बन्धमा उनले कांग्रेसका उपसभापती विमलेन्द्र निधि संग भटघाट गरेका छन् ।
ठाकुर पक्षमा गएका नेताहरुलाई हटाएर यादवले कांग्रेसलाई समेत सरकारमा ल्याउने तयारी गरेका हुन् । तर निधीले प्रदेश २ मा कांग्रेसको नेतृत्वमा सरकार बने मात्र सहकार्य हुने संकेत गरेका छन् । कांग्रेस स्रोतका अनुसार प्रदेश २ मा कांग्रेसले मुख्यमन्त्री नपाए सरकारमा गएर कुनै फाइदा नरहेको निश्कर्षमा पुगेको छ ।
एक प्रदेश सांसदले भने, ‘प्रदेश २ का कांग्रेस सांसदहरुका अनुसार कांग्रेसका लागि तत्कालिन सपा भन्दा राजपा बढि फ्लेगजिबल हुन्छ ।’ राजपा संसदिय दलका नेता जितेन्द्र सोनलसंग कांग्रेस संसदिय दलका नेता रामसरोज यादवको केमिस्ट्री मिल्ने भएकाले समेत दुईजना बिच कुराकानी भइरहेको हुन सक्ने उनको दावी छ ।
यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललगायत ४ जनालाई पार्टीबाट निष्काशित गरेका छन् । उता ठाकुरले पनि यादवलाई हटाएका छन् । जसपा विभाजन भइसकेको छ । यस्तो अवस्थामा आफ्नो पक्षमा रहेका नेताहरुलाई टिकाउन यादवले प्रदेश २ मा सुरुमा कांग्रेसलाई सरकारमा ल्याउने पहल थालेका हुन् ।
त्यही विषयमा शुक्रबार विहान जसपाका अध्यक्ष उपेन्द्र यादव र कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच छलफल भएको हो । निधिलाई भेट्न यादव उनकै निवास पुगेका थिए । निधिका प्रेस संयोजक रामजी दाहालका अनुसार प्रदेश २ को सरकारमा कांग्रेसलाई सहभागी हुन आग्रह गरेका थिए ।
जवाफमा निधिले कांग्रेसलाई नेतृत्व दिन आग्रह गरे । ‘२ नम्बर प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराउनुस’, उपेन्द्रले भने, ‘मिलेर सरकार चलाऔँ ।’ जवाफमा निधिले केन्द्रको जस्तै गठबन्धन बनाएर जाने प्रस्ताव राखेको दाहालले बताए । ‘हुन्छ मिलेर जाऔँ, केन्द्रकै गठबन्धन फलो गरौँ प्रदेशमा पनि’, निधिको जवाफ उद्धृत गर्दै दाहालले भने, ‘तीन वर्ष तपाईंहरूले मुख्यमन्त्री चलाउनुभयो, अब कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाऔँ ।’
तर, यादवले मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा पछि छलफल गर्ने बताए । ‘मुख्यमन्त्रीको विषयमा पछि छलफल गरौँला । अहिले मन्त्रीमण्डलमा सहभागी हुनुस’, यादवले भने । जसपा अध्यक्ष यादवले २ नम्बर प्रदेशको राजनीतिको विषयमा कुराकानी भएको स्वीकार गरे ।
‘सरकारकै विषय मात्रै नभनौँ समग्र राजनीतिबारे छलफल भयो’, उनले भने । आफूनिकट केही नेताहरु महन्थ ठाकुर पक्षमा खुलेपछि यादवले प्रदेश २ मा सरकार परिवर्तन गर्ने तयारी थालेका छन् । त्यसका लागि उनले कांग्रेसको साथ खोजेका हुन् ।
प्रदेशमा रहेका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल महन्थ पक्षमा छन् भने सोही मन्त्रालयकी राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अविराम शर्मा, उद्योग तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डल महन्थ पक्षमा छन् । उनीहरूलाई हटाएर सरकारमा कांग्रेसलाई सहभागी गराउने तयारी सुरू भएको हो ।
प्रदेश २ सरकारमा पूर्वराजपाबाट ३ मन्त्री र ३ राज्यमन्त्री रहेपनि २ जना मन्त्री उपेन्द्र यादवको पक्षमा खुलेका छन् । पूर्वराजपाबाट मन्त्री बनेका नवलकिशोर साह र रामनरेश राय उपेन्द्र पक्षमा छन् । सरकारमा सहभागिता र मन्त्रीमण्डल फेरबदलबारे कांग्रेस र जसपाबीच फेरि वार्ता हुने भएको छ ।
प्रदेश २ ठाकुरको कोटामा
संघिय सरकारमा जसपाको नेतृत्व राजेन्द्र महतोले गरेपछि प्रदेश २ मा महन्थ ठाकुरले नेतृत्व गर्ने स्रोतको दावी छ । एक नेताले भने, ‘जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने गरि ठाकुर पक्ष लविङ्ग गरिरहेको छ ।’ संघिय सरकारमा ठाकुर पक्षका चन्दा चौधरीलाई महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री बनाइएको छ ।