एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ ७ : देशको चौथो ठूलो दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको राजनीति मौकालाई सदुपयोग गर्नुपर्ने बताएका छन् । उनले आफ्नो पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलाई अब प्रधानमन्त्री बनाएर जानुपर्ने बताएका हुन् । राष्ट्रपतिले शुक्रबार साँझ ५ बजेभित्र संविधानको धारा ७६ ९५० अनुसार नयाँ सरकार आह्वान बनाउन समय दिएपछि उनको यस्तो तर्क आएको हो ।
“यस्तो परिस्थितिको सदुपयोग पनि गर्नुपर्छ” यादवले शुक्रबार बिहान नागरिक टाईम्ससँग कुराकानी गर्दै पार्टीले अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने बताए । ‘अब ठाकुरजीलाई प्रधानमन्त्री बनाउनुपर्छ। हाम्रो पार्टीले उहाँलाई नै अगाडि सार्छ,’ उनले भने, ‘यस विषयमा अरू पार्टीसँग हामी कुराकानी गर्छौं ।’
प्रधानमन्त्री बन्न ठाकुर तयार छन् त भन्ने प्रश्नमा उनले भने, ‘मान्नुहुन्छ होला यसअघि हाम्रो सल्लाह भएको छ।’ केही दिन अगाडि जसपाका दुई अध्यक्ष ठाकुर र यादवबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नजाने बरू आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अगाडि बढ्ने सहमति भएको थियो ।
संविधानको धारा ७६ ९३० अनुसार प्रधानमन्त्री भएका ओलीले राष्ट्रपतिलाई लिखित आग्रह गरेपछि राष्ट्रपतिले बिहीबार संविधानको धारा ७६ ९५० अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन्। यद्यपि राष्ट्रपतिको यो कदम संविधानविपरीत भएको अध्यक्ष यादवको भनाई रहेको छ। अब कसरी अगाडि बढ्ने भन्नेबारे अरू दलसँग पनि परामर्श गरिने उनले बताए।
उनले अरू दलको सरकार नबनोस् भन्ने नियत राखेर रातको समय पारेर नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भएको हुनसक्छ । तर पनि यो राजनीति मौकालाई सदुपयोग गर्नुपर्छ, सबै दलले सरकार पाईसके अब पालो जसपाको हो उनले भने राष्ट्रिय सहमतिमा जे पनि हुन्छ । एता ठाकुर पक्षले भने यादवको यो तर्कलाई राजनितिक बइमानी भनेका छन् । एक नेताले भने, ‘उपेन्द्र जी, प्रचण्ड र देउवाले चाहेको भए ठाकुर जी उहिले प्रधानमन्त्री बन्नु हुन्थ्यो, तर उपेन्द्र जी लाई आफै रेकर्ड बनाउने मन छ क्यार ।’