एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । पुनः विश्वासको मतको प्रक्रियामा जानुभन्दा संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने मनस्थितिमा आफू पुगेको प्रधानमन्त्रीले बताएको एक मन्त्रीले जानकारी दिए ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले एकपटक विश्वासको मत नपाएकाले पुनः विश्वासको मतको प्रक्रियामा नजाने जानकारी गराएका थिए । हाल संविधानको धारा ७६ (३) अनुसार अल्पमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले अब ७६ (५) को सरकारको विकल्पमा जान मार्ग प्रशस्त गर्ने हो भने राजीनामा दिनुपर्ने हुन्छ ।
संविधानको धारा ७६ (५) मा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न सक्ने प्रतिनिधि सभाको जुनसुकै सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने उल्लेख छ । कुनै पनि सांसदले बहुमत सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिकोमा जान नसकेमा प्रतिनिधि सभा संविधानतः विघटन गर्न बाटो खुल्नेछ । त्यसपछि सरकार चुनावी सरकारमा परिणत हुनेछ । यसरी ओली पुनः बहुमतका आधारमा पुनः आफै प्रधानमन्त्री दावी गर्ने नभए जसपाको संसदिय दलको नेता महतो र सहमती नभए ठाकुरलाई प्रधानमन्त्रीका रुपमा आगाडि सार्ने योजना रहेको स्रोतको दावी छ ।
गत वैशाख २७ गते प्रतिनिधि सभामा ओलीले विश्वासको मत लिने प्रयास गरे पनि पार्टी भित्रबाटै असहयोग भएपछि बहुमत पु¥याउन असफल भएका थिए । एमालेका २८ सांसद विश्वासको मत दिने बैठकमा अनुपस्थित भएपछि ओलीको पक्षमा ९३ जनाले मात्र मतदान गरेका थिए । त्यसको ४ दिनपछि राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
संविधानको धारा ७६ को उपधारा ३ अनुसार बनेको प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यसरी विश्वासको मत प्राप्त गर्न नसकेमा प्रधानमन्त्री पद स्वतः रिक्त हुनेछ । त्यसअगावै राजीनामा दिएको खण्डमा पनि पद रिक्त भएर ७६ (५) मा जान बाटो खुल्ने छ । बैठकले यही जेठ ९ गतेका लागि संसद्को बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गर्ने निर्णय पनि गरेकी ती मन्त्रीले जानकारी दिए ।
ठाकुर–महतो बालुवाटार पुगे
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमा विश्वासको मत नलिने जनाउँदै संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि मार्गप्रशस्त गर्ने बताएलगत्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।
प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको हैसियतमा धारा ७६(३) अनुसार बनेका प्रधानमन्त्री ओलीले पदमा रहिरहन ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर ओलीले अहिल्यै विश्वासको मत नलिनेबारे राष्ट्रपतिलाई जानकारी गराउँदै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय गरेका थिए ।
यसरी विकसित भइरहेको घटनाक्रमबारे छलफल र आगामी रणनीति तय गर्न जसपा अध्यक्ष ठाकुरसहित महतो बालुवाटार पुगेका स्रोतले जनाएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले जसपाको माग अनुसार आमाको नागरिकताबाट सन्तानलाई जन्मसिद्ध नागरिकता दिने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद् बैठकबाट जेठ ९ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस समेत गरिएको छ ।
लोकान्तरको सहयोगमा