एसपी रिपोर्टर
जनकपुरधाम, असोज २३ :
धनुषामा लागुऔषधको अवैध कारोबार तथा दुव्र्यसन नियन्त्रण र सामाजिक सञ्जालको दुरुपयोगबाट हुने आपराधिक गतिविधिमाथि कडाइ गर्न जनसरोकार अभियानले सरकारको ध्यानाकर्षण गराएको छ।
अभियानले शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै लागुऔषधको ओसारपसार तथा बिक्रीवितरण नियन्त्रण गर्न र सामाजिक सञ्जालमार्फत हुने चरित्रहत्या, भ्रामक प्रचार तथा धार्मिक र जातीय सद्भाव बिथोल्ने गतिविधिमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको हो।
धनुषामा लागुऔषध दुव्र्यसन, चोरीका घटना, सामाजिक सञ्जालमा अशोभनीय टिप्पणी तथा व्यक्तिको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि बढिरहेको भन्दै अभियानले चिन्ता व्यक्त गरेको छ। यस्ता गतिविधिले समाजमा अविश्वास र विभाजन बढाउनुका साथै शान्ति सुरक्षामा चुनौती थपिरहेको ज्ञापनपत्रमा उल्लेख छ।
सामाजिक सञ्जालमा वास्तविक घटनालाई बढाइचढाइ प्रस्तुत गर्ने, काल्पनिक घटनाका नाममा भ्रम फैलाउने र युवालाई आपराधिक गतिविधितर्फ उन्मुख गराउने प्रवृत्ति नियन्त्रण गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने अभियानको माग छ। अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरी गैरकानुनी गतिविधि गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन पनि अभियानले आग्रह गरेको छ।
त्यस्तै, सीमापारिबाट अवैध रूपमा भित्रिने प्रतिबन्धित लागुऔषधको ओसारपसार, बिक्रीवितरण तथा सहज उपलब्धता रोक्न सुरक्षा निकाय र सम्बन्धित नियमनकारी निकायलाई सक्रिय बनाउनुपर्ने माग गरिएको छ।
अभियानले जनकपुरधाम उपमहानगरपालिका–५ मा अमिन सफीमाथि भएको घटनाको निष्पक्ष अनुसन्धान गर्नसमेत माग गरेको छ। घटनामा दोषी ठहर हुने तथा सहयोगीको भूमिका पुष्टि हुने व्यक्तिलाई संलग्नताका आधारमा कानुनअनुसार कारबाही गर्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ।
समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै अभियानले अपराध नियन्त्रणका लागि कानुनको प्रभावकारी कार्यान्वयन र सम्बन्धित निकायको सक्रियता आवश्यक रहेको जनाएको छ।
जनसरोकार अभियानका अध्यक्ष जितेन्द्रकुमार महासेठले हस्ताक्षर गरेको ज्ञापनपत्रको बोधार्थ मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषालाई समेत दिइएको छ।

