एसपी रिपोर्टर
जनकपुरधाम, असोज २२ :

नेपाल पत्रकार महासंघ धनुषा शाखाको १४औँ साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले संघीयताले आर्थिक भार बढाएको भन्दै गलत भाष्य निर्माण भइरहेको बताएका छन्। संघीयता नरुचाउने पक्षले यस्तो भाष्य निर्माण गरेको उनको आरोप छ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन हेर्दा संघीय सरकारका पदाधिकारी तथा कर्मचारीको खर्च र प्रदेशका पदाधिकारी तथा कर्मचारीको खर्चबीचको अन्तरले नै संघीयताबारेको गलत भाष्यलाई खण्डन गर्ने सभामुख यादवले बताए।

नेपालमा अधिकार प्राप्तिका हरेक आन्दोलनमा सञ्चार जगतको भूमिका उदाहरणीय रहेको उल्लेख गर्दै उनले संघीयताको संरक्षण र यसको सकारात्मक पक्षबारे सञ्चार क्षेत्रले बहस गर्नुपर्ने आवश्यकता औँल्याए।
पछिल्लो समय सञ्चार क्षेत्रमाथि चुनौती थपिएको बताउँदै सभामुख यादवले सामाजिक सञ्जालमा फैलिने गलत सूचनाका कारण पत्रकारितामाथि चुनौती बढेको बताए। उनले अध्ययनशील र जिम्मेवार पत्रकारलाई यस्ता चुनौतीबाट विचलित नहुन आग्रह गरे।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले महासंघ इतिहासकै कठिन मोडमा रहेको बताइन्। लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको अधिकार भए पनि त्यसको पूर्ण प्रयोग गर्ने वातावरण अझै बन्न नसकेको उनको भनाइ थियो।


पञ्चायती व्यवस्था, माओवादी सशस्त्र द्वन्द्वलगायतका प्रतिकूल परिस्थितिमा समेत नेपाली पत्रकारिता क्षेत्रले सूचना सम्प्रेषणको जिम्मेवारी निर्वाह गरेको स्मरण गर्दै अध्यक्ष शर्माले अहिलेको अवस्था झनै चुनौतीपूर्ण रहेको बताइन्।
दुई तिहाइको वर्तमान सरकारले लोकतन्त्र, संविधान र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण कार्यान्वयनप्रति आवश्यक प्रतिबद्धता नदेखाएको आरोपसमेत उनले लगाइन्। पछिल्लो समय मूलधारका सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जालका सामग्रीमा बढी विश्वास गर्ने प्रवृत्ति बढेको भन्दै उनले यसले पत्रकारितामाथि थप चुनौती सिर्जना गरेको बताइन्।

साधारणसभाको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ धनुषाले ‘धन्य धनुषा’ नामक स्मारिका विमोचन गरेको थियो।
महासंघ धनुषाका अध्यक्ष पुरन साहको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा, आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा, मिडिया काउन्सिलकी अध्यक्ष वन्दना झा, महासंघका केन्द्रीय पदाधिकारी तथा वरिष्ठ पत्रकारलगायतले धारणा राखेका थिए।

सो अवसरमा स्वर्गीय पत्रकार उमा सिंह पत्रकारिता पुरस्कार सञ्चारकर्मी रिंकु मिश्र गायत्री, रामभरत साह–कनकलता उत्कृष्ट प्रतिभा पत्रकारिता पुरस्कार पत्रकार अशोक दत्त र अनिता चौधरी पत्रकारिता पुरस्कार मो. इन्तेखाब आलमलाई प्रदान गरिएको थियो। पत्रकार सपना कर्णलाई पत्रकारितासम्बन्धी उच्च शिक्षाका लागि छात्रवृत्तिसमेत प्रदान गरिएको थियो।
साधारणसभाको बन्द सत्रमा महासंघ धनुषाका सचिव बटुकनाथ झाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गोविन्द महतोले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको छ।