एसपी रिपोर्टर
जनकपुरधाम, असोज १६ :
जनकपुरधाम उपमहानगरपालिकाभित्र सरसफाइ, सडकबत्ती, सडक तथा नाला व्यवस्थापन, ट्राफिक व्यवस्थापन र पर्यटकमैत्री वातावरण निर्माणमा तत्काल सुधार गर्न माग गरिएको छ ।
जनसरोकार अभियानले शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहलाई ज्ञापनपत्र बुझाउँदै धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको जनकपुरधामको आधारभूत व्यवस्थापन सुधारलाई प्राथमिकता दिन माग गरेको हो ।
अभियानका अध्यक्ष जितेन्द्र महासेठ र महासचिव कौशल्या कुशवाहासहितको टोलीले नगर प्रमुख साहलाई ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि नगरका विभिन्न स्थानमा नियमित र प्रभावकारी फोहोर व्यवस्थापन हुन नसकेको जनाएको छ । फोहोरका कारण दुर्गन्ध फैलिनुका साथै जनस्वास्थ्यमा समेत असर पर्न सक्ने भन्दै अभियानले नियमित सरसफाइसँगै दीर्घकालीन फोहोर व्यवस्थापन योजना कार्यान्वयन गर्न माग गरेको छ ।
धार्मिक पर्यटकीय नगरीका रूपमा परिचित जनकपुरधामको जानकी मन्दिर तथा आसपासका क्षेत्रमा विशेष सरसफाइको व्यवस्था गर्न पनि अभियानले आग्रह गरेको छ । सरकारले जनकपुरधामका केही क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै अभियानले त्यस्ता क्षेत्रको गरिमा कायम हुने गरी सरसफाइ तथा व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।
त्यस्तै, नगरभित्रका सडकबत्ती तथा गल्लीका पोलबत्ती मर्मत गरी नियमित सञ्चालनमा ल्याउन माग गरिएको छ । पर्याप्त प्रकाशको अभावमा चोरीलगायतका घटना हुन सक्ने भन्दै चाडपर्वका समयमा नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउन तत्काल बत्ती व्यवस्थापन गर्न अभियानले आग्रह गरेको हो ।
नगरका विभिन्न सडक जीर्ण तथा भत्किएको भन्दै तत्काल मर्मत गर्न पनि माग गरिएको छ । सडकको खराब अवस्थाले पैदल यात्रु तथा सवारीसाधनको आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको अभियानको भनाइ छ ।
सडक तथा नालाका खुला र जीर्ण चेम्बर तत्काल मर्मत गर्नुपर्ने मागसमेत अभियानले गरेको छ । खुला चेम्बरका कारण पैदल यात्रु जोखिममा पर्ने गरेको उल्लेख गर्दै अभियानले हालै एक बालिकाको खुट्टा चेम्बरमा फसेर जोखिममा परेको घटनासमेत स्मरण गराएको छ ।
सडकपेटीका टुटफुट भएका भाग मर्मत गरी पैदल यात्रुका लागि सहज आवागमनको व्यवस्था गर्न तथा सडक, नाला, चेम्बर र फुटपाथको नियमित निरीक्षण गरी जोखिमयुक्त स्थान पहिचान गरेर तत्काल मर्मत गर्न अभियानले माग गरेको छ ।
यसैगरी, जनकपुरधामको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन अभियानले ध्यानाकर्षण गराएको छ । नगरभित्र अटो रिक्सा अव्यवस्थित रूपमा सञ्चालन हुँदा पैदल यात्रु तथा अन्य सवारीसाधनको आवागमनमा समस्या हुने गरेको भन्दै अटो रिक्साको पार्किङ, रुट र सञ्चालनलाई व्यवस्थित गर्न आग्रह गरिएको छ । अटो रिक्सा सञ्चालनसम्बन्धी विगतमा भएका सर्वपक्षीय निर्णय कार्यान्वयन गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
जनकपुरधाम आउने पर्यटक तथा तीर्थयात्रीले भोग्नुपरेका समस्यालाई गम्भीर रूपमा लिनसमेत अभियानले आग्रह गरेको छ । सरसफाइ, सडक, बत्ती, ट्राफिक तथा सार्वजनिक पूर्वाधारको उचित व्यवस्थापन नहुँदा पर्यटकमा नकारात्मक प्रभाव पर्न सक्ने अध्यक्ष महासेठले बताए ।
उनले पर्यटकका लागि सहज र सुरक्षित वातावरण निर्माण गर्न सके जनकपुरधामको धार्मिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।
अभियानले ज्ञापनपत्रमा उल्लेखित विषयमा तत्काल आवश्यक कदम चाल्दै जनकपुरधामलाई स्वच्छ, सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री धार्मिक नगरीका रूपमा विकास गर्न उपमहानगरपालिकासँग आग्रह गरेको छ ।

