एसपी रिपोर्टर
जनकपुरधाम, साउन ५:
जनकपुरधाम उपमहानगरपालिका १६ वडा कार्यालयले ६ सयभन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। ज्येष्ठ नागरिकप्रति सम्मान, कदर र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले ज्येष्ठ नागरिक समाजका ज्ञान, अनुभव र संस्कृतिका जीवित धरोहर भएको उल्लेख गर्दै परिवार र समाजले उनीहरूको सम्मान र संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले ज्येष्ठ नागरिकको अनुभव नयाँ पुस्तासम्म हस्तान्तरण गर्न आवश्यक रहेको धारणा पनि व्यक्त गरे।
कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र पंजियारले ज्येष्ठ नागरिकको सम्मान गर्नु वडा कार्यालयको दायित्व र कर्तव्य भएको बताए। समाज निर्माणमा योगदान पुर्‍याएका अग्रजप्रति सम्मान प्रकट गर्ने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए। साथै, ज्येष्ठ नागरिकको स्वास्थ्य, सुरक्षा र सामाजिक सम्मानका लागि वडा कार्यालय प्रतिबद्ध रहेको उनको भनाइ थियो।
सम्मान कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।