एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ :

जनकपुरधाम उपमहानगरपालिकाले नगरलाई हराभरा, स्वच्छ र वातावरणमैत्री शहरका रूपमा विकास गर्ने लक्ष्यसहित वृक्षारोपण अभियान सुरु गरेको छ।
अभियानअन्तर्गत पहिलो चरणमा आइतबार थापा चोकदेखि मुजेलियासम्मको सडक खण्डमा ट्रीगार्डसहित विभिन्न प्रजातिका बिरुवा रोपिएको छ। उपमहानगरपालिकाका अनुसार प्रत्येक बिरुवामा ट्रीगार्ड जडान गरी संरक्षणलाई प्राथमिकता दिइएको छ, जसले बिरुवाको दीर्घकालीन संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगरप्रमुख मनोजकुमार साहले बढ्दो शहरीकरण, वायु प्रदूषण र तापक्रम वृद्धिजस्ता वातावरणीय चुनौतीलाई ध्यानमा राख्दै हरियाली विस्तार अभियान सुरु गरिएको बताए। उनका अनुसार अभियानलाई चरणबद्ध रूपमा विस्तार गर्दै जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला अदालत हुँदै भैरव चोकसम्मको सडक क्षेत्रमा पनि वृक्षारोपण गरिनेछ।

उनले हरियाली विस्तारले वातावरणीय सन्तुलन कायम गर्न, हावाको गुणस्तर सुधार्न, अत्यधिक गर्मीको प्रभाव कम गर्न तथा नगरको सौन्दर्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
उपमहानगरपालिकाले सार्वजनिक स्थल, सडक किनारा तथा खाली सरकारी जग्गामा समेत वृक्षारोपणलाई निरन्तरता दिने जनाएको छ। साथै, रोपिएका बिरुवाको नियमित हेरचाह, संरक्षण र व्यवस्थापनलाई अभियानको अभिन्न अंगका रूपमा अघि बढाइने उल्लेख गरेको छ।
स्थानीय सरकारको यस पहलले वातावरण संरक्षणमा टेवा पुर्‍याउनुका साथै जनकपुरधामलाई हरित, व्यवस्थित र दिगो शहरका रूपमा विकास गर्ने दीर्घकालीन अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।