एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ :
मनसुनको सक्रियतासँगै मधेश प्रदेशमा बाढी तथा जलजन्य विपद्को जोखिम बढ्ने भएपछि सशस्त्र प्रहरी बलले विपद् उद्धार तयारीलाई प्रभावकारी बनाउन सर्लाही र रौतहटमा विशेष सिमुलेसन अभ्यास सञ्चालन गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनीको आयोजनामा ‘साहस’ नामक जल उत्पन्न विपद् उद्धारसम्बन्धी कृत्रिम घटना (सिमुलेसन एक्सरसाइज) शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथर तथा सर्लाहीको बागमती नगरपालिका–११ स्थित बागमती नदी क्षेत्रमा सम्पन्न भएको हो।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयसँगको समन्वयमा आयोजित कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो प्रमुख अतिथि थिए। कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, विपद् व्यवस्थापनसँग सम्बन्धित अधिकारी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवास भण्डारीले स्वागत मन्तव्य राखेका थिए। मन्त्री महतोले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै आधुनिक प्रविधि र दीर्घकालीन योजनामार्फत विपद् व्यवस्थापनलाई अझ सुदृढ बनाइने धारणा राखे। उनले विपद्का समयमा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा पनि गरे।

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्टले नागरिकको जिउधनको सुरक्षा र मानवीय सेवामा सशस्त्र प्रहरी बल सधैँ प्रतिबद्ध रहेको बताए। अभ्यासका क्रममा बाढीका कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार, घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा विभिन्न निकायबीचको समन्वयात्मक कार्यको नमुना प्रदर्शन गरिएको थियो।