एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २१ :
मिथिलाको कला, संस्कृति र मौलिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले ‘मिस मिथिला नारी सौन्दर्य प्रतियोगिता’ आयोजना हुने भएको छ । प्रतियोगिताबारे जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गरिएको हो ।
काठमाडौंस्थित थर्ड आइ स्टुडियो प्रा.लि.द्वारा आयोजना हुन लागेको प्रतियोगिताले मिथिलाको परम्परागत सौन्दर्यलाई आधुनिक मञ्चमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक हरिस जैसवालले प्रतियोगितालाई केवल सौन्दर्य प्रतिस्पर्धा नभई मिथिलाको सांस्कृतिक प्रतिनिधित्व गर्ने परियोजनाका रूपमा अघि बढाइएको बताए । उनका अनुसार सहभागी युवतीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र भविष्य निर्माणमा पनि विशेष ध्यान दिइनेछ ।
प्रतियोगिताको अडिशन जेठ १६ गते जनकपुरधाम र जेठ २३ गते काठमाडौंमा हुनेछ भने फाइनल असार २७ गते काठमाडौंमा आयोजना गरिनेछ । सहभागीहरूले इ–सेवामार्फत १०० रुपैयाँ शुल्क तिरेर अनलाइन आवेदन दिन सक्नेछन् ।
प्रतियोगितामा परम्परागत पहिरनलाई प्राथमिकता दिइएको छ । सहभागीहरूले साडी तथा कुर्ता–सुरुवाल मात्र लगाउन पाउनेछन् भने वेस्टर्न ड्रेस निषेध गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले स्कुटी पुरस्कार प्राप्त गर्नेछिन् भने दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिनेछ । साथै, उत्कृष्ट प्रतिभालाई विभिन्न राष्ट्रिय परियोजनामा सहभागी गराई करियर विकासमा सहयोग गर्ने योजना पनि रहेको आयोजकले जनाएको छ ।





