एसपी रिपोर्टर
जनकपुरधाम, चैत २६ :
नेपालस्थित अमेरिकी दूतावासको आयोजनामा उद्यमशीलता सीप विकास कार्यक्रम अन्तर्गत मधेश प्रदेशको राजधानी जनकपुरधाममा दुईदिने तालिम सुरु भएको छ।
इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट र आदयन्त एड्भाइजरीसँगको साझेदारीमा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रारम्भिक चरणका उद्यमीहरूलाई लक्षित गरी विभिन्न व्यावसायिक सीपहरू प्रदान गरिनेछ। इन्स्टिच्युटका निर्देशक रोशन घिमिरेका अनुसार तालिममार्फत दिगो व्यवसाय निर्माण, लगानी आकर्षित गर्ने क्षमता अभिवृद्धि, निर्यातमुखी रणनीति विकास तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत व्यवसाय विस्तार गर्ने सीप सिकाइनेछ।

तालिमका सत्रहरू व्यवसायका आधारभूत पक्ष, बजार परीक्षण, लगानीकर्तासँग प्रभावकारी संवाद, डिजिटल बजारीकरण र निर्यात तयारीमा केन्द्रित रहने जनाइएको छ। कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाबाट ३५ जना युवा उद्यमीहरूको सहभागिता रहेको छ।
कार्यक्रम लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सुरु भई धनगढी, विराटनगर, जनकपुरधाम हुँदै हेटौंडा, भैरहवा र पोखरामा क्रमशः सञ्चालन हुने बताइएको छ। सातै प्रदेशका करिब २०० उद्यमीहरूलाई प्रत्यक्ष कार्यशाला तथा भर्चुअल प्रशिक्षणमार्फत सहभागी गराउने लक्ष्य राखिएको छ।

यस कार्यक्रमले उद्यमशीलता प्रवर्द्धन गर्दै निजी क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ। साथै, सहभागी उद्यमीहरूलाई नवीन सोचलाई व्यवहारिक व्यवसायमा रूपान्तरण गर्न, रोजगारी सिर्जना गर्न र दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





