एसपी रिपोर्टर
जनकपुरधाम, माघ २३ :
आसन्न निर्वाचनलाई लक्षित गर्दै बालबालिकाको संरक्षण सुनिश्चित गर्न सरोकारवालाहरूले कुनै पनि रूपमा बालबालिकाको प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार जनकपुरधाममा आयोजित ‘आगामी निर्वाचन र बालअधिकार संरक्षण’ विषयक छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले निर्वाचन प्रक्रियामा बालबालिकालाई संलग्न गराइनु कानुनविपरीत र अनुचित हुने स्पष्ट पारे । कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा ‘बालबालिका शान्ति क्षेत्र अभियान’का अध्यक्ष तिलोतम पौडेलले अघिल्ला निर्वाचनहरूमा बालबालिकाको प्रयोग भएका घटनाहरू स्मरण गराउँदै यस विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।
यस्तै, अनौपचारिक सेवा केन्द्र (इन्सेक) का मधेस प्रदेश संयोजक राजु पासवानले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन नागरिक समाज तथा संघ–संस्थाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । उनले इन्सेकले देशका ७७ वटै जिल्लामा निर्वाचन परिवेक्षणका लागि अनुमति प्राप्त गरिसकेको जानकारी गराए ।
कार्यक्रममा सहभागी विभिन्न बाल सञ्जाल तथा बाल क्लबका सदस्यहरूले राजनीतिक दलहरूको प्रचारप्रसार तथा उम्मेदवारी दर्ताका क्रममा बालबालिकाको प्रयोग भइरहेको देखिएको भन्दै चिन्ता व्यक्त गरे । उनीहरूले यस्ता गतिविधिमा उजुरी पर्खिनु नपरी निर्वाचन आयोगले स्वयं अनुगमन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।





