एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १९ :
नेपाल निजामति कर्मचारी युनियनको ३५औँ स्थापना दिवसको अवसरमा जनकपुरधाममा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन धनुषाले जनक चोकमा आयोजना गरेको उक्त कार्यक्रममा कर्मचारी तथा स्थानीय बासिन्दाले उत्साहपूर्वक सहभागिता जनाए।
प्रत्येक वर्ष भदौ १९ गते स्थापना दिवस मनाउने परम्पराअनुसार यस वर्ष पनि जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक कार्यक्रम गरिएको युनियन धनुषाका अध्यक्ष धर्मराज पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार हाल रक्त माग्नेहरूको संख्या दिनानुदिन बढ्दै गएको अवस्थामा युनियनले समाजोपयोगी कार्यमार्फत् स्थापना दिवसलाई अर्थपूर्ण बनाएको हो।
कर्मचारीहरूको हक–अधिकारको सवालमा छाता संगठन गम्भीर नभएको गुनासो बढेपछि ३५ वर्षअघि भदौ १९ गते कांग्रेस निकट कर्मचारी संगठनको स्थापना गरिएको थियो। त्यही दिनको स्मरणमा नेपाल निजामति कर्मचारी युनियनले प्रत्येक वर्ष स्थापना दिवस विविध सामाजिक कार्यक्रमसहित मनाउँदै आएको छ।