एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ७ :
सामाजिक विकास तथा अनुसन्धान केन्द्र नामक संस्थाको ३४औँ साधारण सभा एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।
शनिबार संस्थाको अध्यक्ष मञ्जु यादवको अध्यक्षतामा सम्पन्न साधारण सभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न भएको हो । साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सामाजिक विकास तथा अनुसन्धान केन्द्रको वार्षिक प्रतिवेदन अनुसार धनुषाको जनकनन्दनी गाउँपालिका तथा विदेह नगरपालिकामा सशक्त बालिका कार्यक्रम, सर्लाहीको धनकौल तथा चक्रघट्टा गाउँपालिकामा बाढी पीडित परिवारलाई राहत वितरण, धनुषाको सबैला नगरपालिकामा शुद्ध खानेपानी वितरण, युएन वुमेन र माइती नेपालको सहकार्यमा धनुषाको मिथिला विहारी नगरपालिका तथा धनुषाधाम नगरपालिकामा साहस परियोजना लगायतका योजनामा गत आर्थिक वर्षमा काम गरेको थियो ।

यसका साथै संस्थाले आगामी दिनमा कार्यायल व्यवस्थापन, एम्बुलेन्स सेवा सुचारु गर्ने, बालबालिकाको सशक्तिकरणका लागि पैरवी गर्ने सहितका योजनामा काम गर्ने अध्यक्ष मञ्जु यादवले जानकारी दिइन् ।
संस्थाले सशक्त बालिका र साहस परियोजानकालागि दातृ निकायबाट अनुदानमा सहयोग पाएको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभाका प्रमुख अतिथि डीमैनका अध्यक्ष सूर्यबहादुर थापाले एकै उद्देश्यमा काम गर्ने सामाजिक संघ संस्थाहरुलाई मिलेर काम गर्न आग्रह गरे । उनले एउटै उद्देश्यमा काम गर्ने सामाजिक संघ संस्थाहरु एकैठाउँमा आएर काम गर्दा त्यसको परिणाम पनि उत्कृष्ट आउने बताए ।

साधारणसभामा जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल, संस्थाका संस्थापक रामसिंह यादव, गैरसरकारी संस्था महासंघका सचिव रामचन्द्र साह, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य धीरेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो ।





