एसपी रिपोर्टर
जनकपुरधाम, असार १७ :

नेकपा एमालेको नेतृ एवं पूर्वमन्त्री जुली कुमारी महतोले जनकपुरधामको विकासकालागि तीनै तहको सरकारदेखि सबै पक्ष एकजुट हुनु आवश्यक रहेको बताएकी छिन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५मा ज्येष्ठ नागरिक एवं अपांगता भएकाहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै पूर्व मन्त्री महतोले जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरका साथै शैक्षिकको हबको रुपमा विकासकालागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन् ।

उनले जनकपुरधाममा हुने मिथिला मध्यमा परिक्रमा, यहाँको मठमन्दिर तथा ऐतिहासिक पोखरीहरुको संरक्षण एवं सम्बद्र्धन गरेर धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्न सकिने बताइन् ।
महतोले जनकपुरधामलाई शैक्षिक हबको रुपमा समेत विकास गर्न सकिने बताइन् । उनले यसकालागि जनकपुरधाममा अत्याधुनिक कलेज तथा विश्वविद्यालयको विकास गर्न सकिने बताइन् । कार्यक्रममा महतोले जनकपुरधाममा रहेको राजर्षि जनक विश्वविद्यालय अहिले पनि भाडाकै घरमा संचालन भईरहेकोप्रति चिन्ता व्यक्त गरिन् ।

कार्यक्रममा जनकपुरधामका पूर्व नगरप्रमुख बजरंग प्रसाद साहले स्थानीय तहका प्रमुखहरुले सामाजिक कार्यमा समेत ध्यान पुर्याउनुपर्ने तर्फ जोड दिए । उनले यहाँका जनप्रतिनिधिहरु सामाजिक कार्यलाई उपेक्षा गर्दै आएको आरोप लगाउँदै बजेट कार्यान्वयन कमजोर हुँदै गएको बताए । स्थानीय तहको ४० प्रतिशतसम्म बजेट फ्रिज हुनु चिन्ता व्यक्त गरे । पूर्व नगरप्रमुख साहले बजेट कार्यान्वयन गर्न नसक्ने जनप्रतिनिधिहरुलाई कारबाही गर्न सक्नेगरी नेपालमा प्रावधान ल्याउनु आवश्यक रहेको बताए ।

जनकपुरधाम उपमहानगर वडा नम्बर ५का वडाध्यक्ष बेचन साहको अध्यक्षतामा भएको कार्यक्रममा ३ लाख बराबरको ४५ जना फरक क्षमता भएका व्यक्तिलाई स्टैण्ड फैन र ५ लाख बराबरको १ सय ३८ जना ज्येष्ठ नागरिकलाई टेबल फैन हस्तान्तरण गर्नुका साथै सम्मान गरिएको थियो । वडाध्यक्ष साहले आफू यस प्रकारको सामाजिक कृयाकलाप गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, एमाले प्रदेश कमिटी सदस्य शिवशंकर साह हिरा, एमाले धनुषाका सचिव दीपन ठाकुर सहित वडा सदस्यहरु, स्थानीयको उपस्थिति रहेको थियो ।