एसपि रिपोर्टर
जनकपुरधाम, जेठ २५ :
प्रेस चौतारी नेपाल वाग्मती प्रदेश समितिले प्रदेश सरकारको आर्थिक सहयोगमा हेटौंडामा पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष कार्यक्रम अन्तर्गत आयोजित दुईदिने तालिममा वाग्मती प्रदेश भरिका पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रम प्रदेश अध्यक्ष तिलक रिमालको अध्यक्षता र महासचिव हीरामान लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया प्रमुख वक्ता थिए। उनले समाजवादउन्मुख व्यवस्थाविरुद्ध फैलाइएका भ्रम चिर्न पत्रकारको भूमिकालाई आवश्यक बताए।
तालिममा सञ्चार रजिष्टार रेवती सापकोटा, सूचना प्रविधि विज्ञ विवेकानन्द न्यौपाने, महासचिव लामालगायतले पत्रकारिता, सूचना प्रविधि, साइबर सुरक्षा, संगठनात्मक संरचना र आगामी योजनाका विषयमा प्रशिक्षण दिए।
महासचिव लामाले संगठनमा अनुशासन र स्वतन्त्रताको सन्तुलन, मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको समझदारी आवश्यक रहेको बताए। प्रेस चौतारी नेपाली श्रमजीवी पत्रकारहरूको हितमा क्रियाशील संगठन भएको भन्दै उनले पत्रकार मात्र संगठनको सदस्य बन्ने व्यवस्था रहेको स्पष्ट पारे।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, उपाध्यक्ष हरि हुमागाईँ, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो।





