एसपि रिपोर्टर
जनकपुरधाम, जेठ २२ :
विश्व वातावरण दिवसको अवसरमा बिहीबार जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबारी बजारस्थित ऐतिहासिक तिरहुतीया गाछीमा वृक्षारोपण गरेको छ।

कार्यक्रममा उपमहानगरपालिकाका मेयर मनोज कुमार साहको विशेष उपस्थितिमा ६०० वटा पिपल, बर, आँप, जामुन र पाखरका बिरुवा रोपिएका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साहले वातावरण संरक्षणका लागि वृक्षारोपण अभियान सुरु गरिएको जानकारी गराए। साथै, उहाँले आगामी दिनहरूमा जनकपुरधामभर थप एक हजार बिरुवा रोपेर शहरलाई हरियो र स्वच्छ बनाउने योजना रहेको बताए। वृक्षारोपण कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि र सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो।





