एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ५ :
समाजसेवामा समर्पित संस्था मानव सेवा आश्रमले जनकपुरधाममा आफ्नै भवन निर्माणको थालनी गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित निर्माणस्थलमा एक विशेष कार्यक्रमबीच औपचारिक भूमिपूजन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि उपमहानगर प्रमुख मनोज साह थिए भने वडाध्यक्ष महेन्द्र साहले भूमिपूजन सम्पन्न गरे। आश्रमका केन्द्रीय सचिव सुमन बर्तौलाका अनुसार, केन्द्रीय गुठी संस्थानबाट लीजमा प्राप्त १३ कठ्ठा जग्गामा दुई तले भवन निर्माणको काम सुरु गरिएको हो।
प्रदेश सरकारअन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयले यस परियोजनाको प्रारम्भिक खर्च ब्यहोरेको छ। भवन निर्माण समितिका अध्यक्ष जितेन्द्र महासेठका अनुसार करिब १०० जना आश्रित बस्न सक्ने गरी भवन निर्माण हुनेछ, जसको अनुमानित लागत ६० लाख रुपैयाँ छ। हालसम्म ३० लाख रुपैयाँ प्रदेश सरकारबाट प्राप्त भइसकेको छ भने बाँकी रकम सामाजिक सहयोग तथा दातृ संस्थाहरूबाट संकलन गरिने योजना रहेको उनले बताए।
विगत चार वर्षदेखि जनकपुरधाममा सेवा दिँदै आएको मानव सेवा आश्रममा हाल ५० जना आश्रितहरू छन्। आश्रममा असहाय, गरिब, मानसिक रूपमा कमजोर, सडकमा परेका तथा परिवारविहीन व्यक्तिहरूलाई आश्रय, भोजन, स्वास्थ्य उपचार र अन्य आधारभूत सेवा प्रदान गरिँदै आएको छ। सचिव बर्तौलाले भवन निर्माणपछि सेवा झनै व्यवस्थित र प्रभावकारी हुने भन्दै जनकपुरवासी, उद्योगी–व्यवसायी, संघ–संस्था तथा समाजसेवीहरूलाई आर्थिक तथा भौतिक सहयोग गर्न आह्वान गरे।
उपमहानगर प्रमुख साहले आश्रमको कार्यबाट आफू प्रभावित रहेको जनाउँदै उपमहानगरपालिकाबाट पनि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए। वडाध्यक्ष महेन्द्र साहले वडामा यति अर्थपूर्ण सेवा भइरहेकामा गौरवको अनुभूति भएको भन्दै भवन निर्माणपश्चात् अझ धेरै आश्रितहरू लाभान्वित हुने विश्वास व्यक्त गरे। स्थानीयवासीका अनुसार मानव सेवा आश्रमको यो पहलले जनकपुरधाममा सामाजिक उत्तरदायित्व र मानवीयताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। नयाँ भवन निर्माणपछि सडकमा जीवन बिताइरहेका धेरै मानिसहरूले सुरक्षित आश्रय पाउनेछन् र मानवता झनै सशक्त हुनेछ।


