एसपी रिपोर्टर
जनकपुरधाम, चैत १० :
चुरे तथा वनजंगल संरक्षण अभियानले नयाँ कार्यसमिति चयन गर्दै पुनः आन्दोलनको घोषणा गरेको छ। आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अभियानले राष्ट्रिय सम्मेलनबाट पारित निर्णयहरू सार्वजनिक गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो।
अभियानका केन्द्रीय अध्यक्ष सुनिल कुमार यादवका अनुसार चैत १५ देखि २० गतेसम्म चुरे विनाशबाट प्रभावित क्षेत्रहरूमा जनजागरण यात्रा सञ्चालन गरिनेछ। सो क्रममा बर्दिबास, सिन्धुली, निजगढ, लालबन्दी, बागमती, चितवन, इटहरी लगायतका स्थानहरूमा सचेतनामूलक कार्यक्रम गरिनेछ। त्यसपछि चैत २४ गतेदेखि माइतीघर मण्डलामा धर्ना र संसद भवनअगाडि अनिश्चितकालीन विरोध कार्यक्रम आयोजना गरिने जनाएको छ।
राष्ट्रिय सम्मेलनबाट सुनिल कुमार यादव पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा सुक्रिती आर्चाय र राजेश भण्डारी चयन भएका छन् । त्यस्तै महासचिवमा बासुदेव डल्लाकोटी चयन भएका छन् । सचिव पछि चयन गरिने जनाइएको छ । कोषाध्यक्षमा नन्दकिशोर रामसहित २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।त्यस्तै, अभियानको प्रवक्तामा प्रमोद कुमार साह र प्रेस सल्लाहकारमा दीपक कुमार कर्ण चयन भएका छन् ।